जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार ११:०३

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झालनाथ खनालको आपत्ति, माफी माग्न र पदबाट राजीनामा दिन माग 


काठमाडौं, जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झालनाथ खनालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रविरोधी’ र ‘खतरनाक’ टिप्पणीका रूपमा चित्रण गर्नुभएको छ।

सोमबार जारी वक्तव्यमा खनालले प्रधानमन्त्री साहले संसदमा बोल्ने क्रममा ‘नेपालले समेत भारतका केही भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नेपाली जनताको राष्ट्रिय भावना र देशभक्तिमाथि आघात पुर्‍याएको बताउनुभएको छ। ‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्ष गर्दै आएका छौँ र अहिले पनि हाम्रो भूमिमाथि अतिक्रमण भइरहेको छ,’ खनालले वक्तव्यमा भन्नुभएको छ, ‘त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो।’

खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्ताबेजका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने प्रश्नसमेत उठाउनुभएको छ। उहाँले प्रधानमन्त्रीको भनाइले देशभित्र र विदेशमा रहेका करिब तीन करोड नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात पुगेको दाबी गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न योग्य नहुने टिप्पणी गर्दै प्रधानमन्त्री साहले सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध र भर्त्सना जारी राख्न सम्पूर्ण देशभक्त नागरिक तथा राजनीतिक शक्तिहरूसँग आग्रह गर्नुभएको छ।

उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई प्रतिनिधिसभाको अभिलेखबाट तत्काल हटाउन सभामुखसमक्ष समेत आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री साहको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल तथा नेताहरूले आलोचना गरिरहेका बेला खनालको प्रतिक्रिया सार्वजनिक भएको हो।