जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार ११:२२

रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति खतरनाक : कुलमान घिसिङ 


काठमाडौं, जेठ १८ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर चासो व्यक्त गर्दै त्यसले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउने जोखिम रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले हालसालै थाहा पाएको’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै घिसिङले उक्त विषय राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएको बताउनु भएको हो । ‘प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति अत्यन्त गम्भीर, संवेदनशील र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,’ घिसिङले भन्नुभएको छ ।

उहाँले नेपाल–भारत सीमा विवाद कुनै नयाँ विषय नभएको उल्लेख गर्दै नेपालले विगतदेखि नै ऐतिहासिक दस्ताबेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको बताउनु भएको छ । ‘यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसद्जस्तो सर्वोच्च लोकतान्त्रिक मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउने, सीमा सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्ने तथा तथ्य र प्रमाणका आधारमा नेपालले उठाउँदै आएको वैध दाबीलाई समेत प्रभावित पार्ने जोखिम उत्पन्न गर्दछ,’ घिसिङको भनाइ छ।

उहाँले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ । ‘राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारको अभिव्यक्ति अत्यन्त जिम्मेवार, स्पष्ट र प्रमाणमा आधारित हुनुपर्छ,’ उहाँले भन्नुभएको छ ।

घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिले थप प्रश्नहरू जन्माएको पनि बताउनुभएको छ । ‘विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले थप संशय र प्रश्नहरू जन्माएको छ,’ उहाँले उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै घिसिङले देश र जनतासमक्ष स्पष्ट धारणा राख्न आग्रह गर्नु भएको छ । ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य सार्वजनिक गर्दै देश र जनतासमक्ष स्पष्ट धारणा राख्न आवश्यक छ,’ उहाँको धारणा छ ।

घिसिङले नेपाल–भारत सीमा समस्या भावनात्मक वा अनुमानका आधारमा नभई ऐतिहासिक तथ्य, प्रमाण, नक्सा र विज्ञहरूको अध्ययनका आधारमा समाधान हुनुपर्ने धारणा राख्नु भएको छ । ‘सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको होइन, सम्पूर्ण राष्ट्रको साझा चासो र संवेदनशील विषय हो, त्यसैले यस्ता अभिव्यक्तिप्रति गम्भीर समीक्षा र स्पष्टीकरण आवश्यक छ,’ उहाँको भनाइ छ ।