जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १२:५६

प्रधानमन्त्रीको अभिव्यक्तिमा कलाकार ज्योति मगरको प्रतिक्रिया : देश जलाउने देशद्रोहीबाट यस्तै अभिव्यक्तिको अपेक्षा थियो


काठमाडौं, जेठ १८ । कलाकार ज्योति मगरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आलोचना गर्नुभएको छ।

प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिनुभएको विषयलाई लिएर कलाकार मगरले सामाजिक सञ्जालमा टिप्पणी गर्दै उक्त भनाइप्रति आपत्ति व्यक्त गर्नुभएको हो। ‘ देश जलाउने, न्यायालय जलाउने, सार्वभौमिकता र स्वाधीनता जलाउने देशद्रोहीबाट यस्तै राष्ट्रघाती अभिव्यक्तिको आशा थियो, जुन बिस्तारै प्रमाणित हुँदै छन्,’ मगरले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

उहाँले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमा सार्वजनिक धारणा राख्दै उहाँले प्रधानमन्त्रीको भनाइको तथ्यगत आधारबारे समेत प्रश्न उठाउनुभएको छ। ‘जसरी सिक्किम र दार्जिलिङका राई, लिम्बू, गुरुङ मगरहरूलाई नेपालको माया लाग्छ त्यसरी नै यी देश द्रोहीहरूलाई भारतको माया लाग्नु स्वाभाविक हो, जहाँ बसोबास गरे पनि आफ्नो पुर्खाको धर्म संस्कार त रगत मै हुन्छ, कुरा यत्ति हो कि नेपालीको चिम्सो आँखाले त्यो देख्दैन’, मगरले लेख्नुभएको छ।

उहाँले संसद् सदस्यहरू र प्रधानमन्त्रीका समर्थकहरूलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत गर्नुभएको छ। ‘घन्टे संसद्हरू च्याट जिपिटीमा खोज्दै होलान् सिमाना मिचेको क्षेत्रहरू,’ उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।

मगरले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्नेहरूप्रति पनि असन्तुष्टि जनाउँदै ‘घन्टे भक्तहरू खोक्रो राष्ट्रवाद भनेर डिफेन्समा उत्रिँदै छन्, कठै यिनीहरूको चेतना स्तर,’ भन्ने टिप्पणी गर्नुभएको छ।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्वहरूले प्रतिक्रिया जनाइरहेका बेला कलाकार मगरको धारणा पनि सार्वजनिक भएको हो।