जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १३:०७

दिल्ली उडे रवि, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तयारी


काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) का नेता नीतिन नवीनको निमन्त्रणामा उहाँ भारत जानुभएको जनाइएको छ।

भ्रमणका क्रममा लामिछानेले भारतका विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपा स्रोतले जनाएको छ। नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीतिक विषय तथा आपसी चासोका मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

लामिछानेसँगै उहाँकी पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्यद्वय दीपक बोहरा र प्रदीप आचार्य पनि भारत गएका छन्।

पछिल्लो समय नेपाल–भारत सम्बन्ध र सीमा सम्बन्धी विषयलाई लिएर मुलुकको राजनीति तरंगित बनेका बेला लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिपछि उत्पन्न बहसकै बीच रास्वपा सभापतिको दिल्ली भ्रमण हुन लागेको हो।

रास्वपा स्रोतका अनुसार भ्रमण तालिकाअनुसार लामिछाने जेठ २२ गते स्वदेश फर्कनुहुनेछ। उहाँको भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तार तथा संवादको निरन्तरताका रूपमा समेत हेरिएको छ। तर उहाँ भारत उड्ने अघिल्लाे दिन रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतकाे भूमि मिचेकाे छ भनि दिएकाे अभिव्यक्तिकाे कारण देश भर विराेध भइरहेकाे छ । देशमा भारतसँग जाेडेर प्रधानमन्त्रीकाे विराेध भइरहेकाे बेला उहाँकाे याे भ्रमणलाई चासाेका साथ हेरिएकाे छ ।