जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १३:४०

एमालेले भन्यो : प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य


काठमाडौं, जेठ १८ । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा संघीय संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य भएको जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलद्वारा सोमबार जारी वक्तव्यमा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले गम्भीर चिन्ता पैदा गरेको उल्लेख गरिएको छ। ‘राष्ट्रको कार्यकारी प्रमुखको जिम्मेवार पदमा आसिन व्यक्तिबाट ऐतिहासिक यथार्थ, तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य हो,’ वक्तव्यमा भनिएको छ।

एमालेले नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकारको विषय नभई सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प भएको उल्लेख गरेको छ। यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी तथा राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको पार्टीको निष्कर्ष छ। ‘प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाएको छ,’ एमालेले भनेको छ। ‘यस प्रकारको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ।’

वक्तव्यमा एमालेले आफ्नो नेतृत्वको सरकारले २०७७ साल जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको प्रसंग पनि स्मरण गराएको छ। उक्त नक्सा ऐतिहासिक तथ्य, प्रमाण, नापनक्सा, सन्धि–सम्झौता तथा आधिकारिक दस्तावेजहरूको अध्ययनका आधारमा जारी गरिएको र पछि संघीय संसदबाट सर्वसम्मत रूपमा अनुमोदन भई संविधानको अनुसूचीमा समेत समावेश गरिएको उल्लेख गरिएको छ। ‘सिंगो राष्ट्र एकजुट भई संविधानकै अंग बनाइसकेको भूमिमाथि देशकै प्रधानमन्त्रीले प्रश्न उठाउनु अक्षम्य कूटनीतिक त्रुटि हो,’ वक्तव्यमा भनिएको छ।

एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा लिँदै यस्ता आपत्तिजनक कार्यमा क्षमा दिन नसकिने समेत स्पष्ट पारेको छ।

Oplus_16908288

Oplus_16908288