काठमाडौं, जेठ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवादबारे व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले गम्भीर आपत्ति जनाउँदै तत्काल उक्त भनाइ फिर्ता लिन र राष्ट्र तथा जनतासमक्ष माफी माग्न माग गरेका छन्।
यस विषयमा साझा धारणा बनाउन सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय स्वाभिमान र कूटनीतिक संवेदनशीलतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै त्यसप्रति आपत्ति जनाएको हो। प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई राष्ट्रहित र कूटनीतिक मर्यादामाथिको गैरजिम्मेवार प्रस्तुति भएको निष्कर्ष विपक्षी दलहरूले निकालेका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्ति तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। साथै, उक्त विषयलाई हल्का रूपमा लिएर जिम्मेवारीबाट उम्किन खोजिए संसदभित्र र बाहिर दुवै ठाउँबाट सशक्त राजनीतिक प्रतिवाद गरिने चेतावनीसमेत दिएका छन्।
बैठकले राष्ट्रिय हितभन्दा माथि कुनै पनि पद वा व्यक्ति हुन नसक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले माफी नमागेसम्म र उहाँको अभिव्यक्ति संसदको अभिलेखबाट नहटाइएसम्म संसद बैठक सञ्चालन हुन नदिने निर्णय गरेको जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गर्दै संसदको रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हित र सीमा सम्बन्धी नेपालको स्थापित अडानमाथि प्रश्न उठाएको भन्दै संसदमा त्यस विषयमा एकीकृत रूपमा आवाज उठाइने बताउनुभयो।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किँदै जाँदा संसदको आगामी बैठक प्रभावित हुने संकेत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्