काठमाडौं, जेठ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा दिनुभएको अभिव्यक्तिको प्रमाण प्रस्तुत गर्न वा उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीजस्तो उच्च पदमा रहेका व्यक्तिका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको भनाइले गम्भीर प्रश्न उठाएको उल्लेख गर्नुभयो। ‘प्रधानमन्त्रीका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ,’ शाहीले भन्नुभयो, ‘नेपालले भारतको सीमा मिचेको हो भने त्यसको प्रमाण प्रस्तुत गर्नुपर्छ, होइन भने प्रधानमन्त्रीले माफी मागेर उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ।’
उहाँले प्रधानमन्त्रीले संसदमा बोलेको कुरा व्यक्तिगत धारणा नभई राज्यको आधिकारिक अभिव्यक्तिका रूपमा बुझिने भएकाले त्यसमा विशेष जिम्मेवारी आवश्यक रहेको धारणा राख्नुभयो। ‘प्रधानमन्त्रीले बोलेको कुरा देशले बोलेको हो, चिया पसलको गफ होइन,’ शाहीले भन्नुभयो, ‘त्यसैले यस्ता विषयमा बोल्दा तथ्य र प्रमाणका आधारमा बोलिनुपर्छ।’
राप्रपा संसदीय दलका नेताले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले सरकारका तर्फबाट आउने अभिव्यक्ति थप जिम्मेवार र स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद तथा राजनीतिक वृत्तमा विवाद चर्किरहेका बेला शाहीले संसदमै उभिएर आफ्नो पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्रीकाे साे अभिव्यक्तिकाे सबै प्रतिपक्षी दलले संसदमा विराेध जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्