जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १४:५५

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरियो, सभामुखको मौनता पनि रहस्यमय : निष्कल राई


काठमाडौं, जेठ १८ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक  निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसले नेपाली जनताको स्वाभिमानमा चोट पुगेको बताउनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत रहेको टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्रीले कुन उद्देश्य र स्वार्थका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो भन्नेबारे सदनमै स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको छ,’ राईले भन्नुभयो, ‘यो चरम राष्ट्रहितविरुद्धको अभिव्यक्ति हो, हामीलाई एक-एक हिसाब चाहिन्छ।’

उहाँले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘प्रधानमन्त्रीले के स्वार्थले यस्तो कुरा बोल्नुभयो ? यसको स्पष्टीकरण उहाँ स्वयंले सदनमा आएर दिनुपर्छ,’ राईले बताउनुभयो।

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सभामुखले कुनै प्रतिक्रिया नजनाएको विषयमा पनि प्रश्न उठाउनुभयो। उहाँले संसदको गरिमा र जिम्मेवारीसँग जोडिएको विषयमा सभामुखको मौनता उचित नभएको धारणा राख्नुभयो। ‘यस विषयमा सभामुखको मौनता पनि जिम्मेवारीप्रतिको उदासीनता हो,’ उहाँले भन्नुभयो।

नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर विरोध भइरहेको बेला कांग्रेस सांसद राईले पनि सरकारसँग जवाफ माग्दै उक्त विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभएको छ।