काठमाडौं, जेठ १८ । प्रतिनिधि सभामा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको टिप्पणी गर्दै उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति स्वीकार्य नभएको बताउनुभयो। उहाँले नेपालले कुनै पनि देशको भूमि अतिक्रमण नगरेको जिकिर गर्नुभयो ।‘यो देश नेपाली जनताको बलिदानबाट स्थापित भएको देश हो, नेपालीको बलिदानबाट आएको व्यवस्था र यही संसद हो,’ महरले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएकाले संसदको अभिलेखबाट हटाउनुपर्छ।’
उहाँले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको भूमि भएको दोहोर्याउँदै प्रधानमन्त्रीलाई त्यसबारे स्मरण गराउनुभयो। ‘नेपालले कसैको पनि एक इञ्च भूमि मिचेको छैन, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो, सुस्ता हाम्रो भूमि हो, यो कुरा प्रधानमन्त्रीलाई हेक्का रहोस्,’ महरले भन्नुभयो।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यमहरूमा त्यसलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले त्यसप्रति पनि आपत्ति जनाउनुभयो। ‘प्रधानमन्त्रीको हिजोको अभिव्यक्तिपछि भारतमा खुसी मनाइएको छ, हाम्रो शिर निहुरिएको छ,’ उहाँले भन्नुभयो।
महरले प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै संसदप्रतिको दृष्टिकोणबारे टिप्पणी गर्नुभयो। ‘प्रधानमन्त्री संसदमा आउँदा फुटबल खेलाडीको ड्रेस लगाएर आउनुहुन्छ, सेनाको कार्यक्रममा जाँदा राष्ट्रिय पोसाकमा जानुहुन्छ, उहाँले संसदलाई के सोच्नुभएको छ ?’ उहाँले प्रश्न गर्नुभयो।
सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई जोडेर समेत प्रश्न उठाउनुभयो। ‘आजै रास्वपाका सभापति भारत भ्रमणमा जानुभएको छ, प्रधानमन्त्रीले भ्रमणको माहोल बनाउनुभएको हो ? गम्भीर प्रश्न सिर्जना भएको छ,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा विरोध जारी रहेका बेला एमाले सचेतक महरले सरकारसँग उक्त भनाइ फिर्ता लिन र संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्