काठमाडौं, जेठ १८ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ राष्ट्रहितविपरीत रहेको टिप्पणी गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्तिले आफूलाई गहिरो दुःख र लज्जाबोध भएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको भनाइले राष्ट्रको अस्तित्व र स्वाभिमानमाथि नै प्रश्न उठाएको धारणा राख्नुभयो। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले गहिरो दुःख र लज्जाबोध भइरहेको छ,’ राईले भन्नुभयो, ‘उहाँको अभिव्यक्ति राष्ट्रको अस्तित्वलाई नै समाप्त पार्ने विषय हो।’
उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइ केवल अभिलेखबाट हटाएर मात्र नपुग्ने बताउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्नुभयो। ‘प्रधानमन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट हटाएर मात्र हुँदैन,’ राईले भन्नुभयो, ‘उहाँले राष्ट्रहितविपरीत दिएको अभिव्यक्तिका लागि यही रोस्ट्रममा उभिएर माफी माग्दै आफ्नो भनाइ फिर्ता लिनुपर्छ।’
राईले उक्त अभिव्यक्तिलाई गलत नजिरका रूपमा चित्रण गर्दै त्यसलाई तत्काल सच्याउन आवश्यक रहेको बताउनुभयो। ‘यो गलत नजिर हटाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो नभएसम्म श्रम संस्कृति पार्टीले संसदको अवरोध कायम राख्छ।’
प्रधानमन्त्री साहले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर संसदमा विभिन्न दलका सांसदहरूले विरोध जनाइरहेका बेला श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्रीसँग माफी र अभिव्यक्ति फिर्ताको माग दोहोर्याएको हो।














प्रतिक्रिया दिनुहोस्