जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १७:२०

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध, प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित


काठमाडौं, जेठ १८ । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको विरोध जारी रहेपछि प्रतिनिधिसभाको साेमबारकाे बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीहरूले निरन्तर नाराबाजी गरेपछि संसदको नियमित कार्यसूची अघि बढ्न सकेन।

यसअघि साेमबारकाे पहिलो बैठक पनि विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि ढिलो गरी सुरु भएको दोस्रो बैठकमा समेत सहमति जुट्न नसकेपछि संसद बैठक पुनः प्रभावित बनेको हो।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसद कानून निर्माण गर्ने सर्वोच्च थलो भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर विपक्षी दलहरूले विरोध जारी राखेपछि उहाँले आजका लागि निर्धारित सम्पूर्ण कार्यसूची हटाइएको घोषणा गर्नुभयो।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीसहित सबै विपक्षी दलहरूले माफी माग्न, अभिव्यक्ति फिर्ता लिन र संसदको अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। यही विषयलाई लिएर संसदमा लगातार अवरोध भइरहेका कारण बजेट माथिकाे छलफल, विधेयक र अन्य कार्यसूची प्रभावित बनेका छन्।

अर्यालले हिजाेकाे बैठकमा भएकाे अमर्यादित गतिविधकाे छानविन गर्न समित बनाइएकाे जानकारी दिनुभयाे । साे प्रतिवेदन आए पछि संलग्नलाई कारबाही गर्न सकिने उहाँले चेतावनी पनि दिनुभयाे ।