काठमाडौं, जेठ १९ । सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाबारे अध्ययन गरिरहेको समितिको कार्यावधि थप ४५ दिनका लागि बढाएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनमाथि अध्ययन तथा विश्लेषण गरिरहेको समितिलाई काम सम्पन्न गर्न थप समय उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न गठित समितिले थप समय माग गरेपछि कार्यावधि ४५ दिनका लागि थपिएको हो। समितिले सुरक्षा निकायहरूको भूमिकासहित घटनाका विभिन्न पक्षबारे अध्ययन गरिरहेको बताइएको छ।
मन्त्रिपरिषद् बैठकले यससँगै अन्य विभिन्न निर्णयहरू पनि गरेको छ। वातावरण तथा जलवायु संरक्षणसँग सम्बन्धित विषयमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई क्षति पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणका लागि मोन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ।
त्यसैगरी गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा समेत पदाधिकारी नियुक्त गरेको छ। आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ भने सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठ नियुक्त हुनुभएको छ।














प्रतिक्रिया दिनुहोस्