जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १३:३७

स्वास्थयको अतिरिक्त सचिवमा देवकोटा र शर्माको नाम सिफारिस


काठमाडौं, जेठ १९ । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ । सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो ।

डा. देवकोटा हाल डडेलधुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा हुनुहुन्छ भने डा शर्मा गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशकको जिम्मेवारीमा रहनुभएको छ । शर्मा यसअघि गण्डकी प्रदेश सरकारको स्वास्थ्य सचिवको भूमिकामा समेत रहनुभएको थियो ।

बढुवा मूल्यांकनमा लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि प्रतिस्पर्धामा रहनुभएको थियो । तर प्राप्त अंकका आधारमा शीर्ष स्थानमा परेका दुई उम्मेदवारको नाम मात्र सिफारिस गरिएको समितिले जनाएको छ । उक्त पद गत भदौदेखि रिक्त रहेको थियो । तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव टंक बाराकोटीले राजीनामा दिएपछि पद खाली भएको हो। बढुवाका लागि आवेदन खुला गरिएकामा १३ जना अधिकारीले दाबी प्रस्तुत गर्नुभएको थियो ।

अब सिफारिसमा परेका दुई जनामध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।