काठमाडौं, जेठ १९। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण संघीय संसदका दुवै सदन आज पनि अवरुद्ध भएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद र जनतासमक्ष आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने तथा विवादास्पद अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरेका छन्।
विपक्षी सांसदहरूको निरन्तर नाराबाजी र अवरोधका कारण सभामुखले प्रतिनिधिसभाको बैठक निर्धारित कार्यसूचीमा प्रवेश गराउन सक्नु भएन । विपक्षीकाे विराेध जारी रहे पछि उहाँले शुन्य र विशेष समयमा बाेल्ने कार्यक्रम स्थगित गरेर राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएकाे छ । विपक्षी सांसदहरुले सभामुखकै विरुद्ध नारा लगाइ रहेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय हित, भौगोलिक अखण्डता र सीमा सम्बन्धी स्थापित राष्ट्रिय अडानमाथि प्रश्न उठाएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीबाट स्पष्ट धारणा नआएसम्म संसदको कारबाही सहज रूपमा सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन्।
राष्ट्रिय सभामा पनि सबै सांसदहरुले उठेर विराेध जनाएका छन् ।
प्रधानमन्त्रीले केही दिनअघि संसदमा नेपाल–भारत सीमासम्बन्धी प्रसंगमा दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विवाद सुरु भएको थियो। त्यसयता विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्।
संसद अवरुद्ध हुँदा विधेयकहरू, बजेटसम्बन्धी छलफल तथा अन्य संसदीय कार्य प्रभावित भएका छन्।













प्रतिक्रिया दिनुहोस्