काठमाडौं, जेठ १९ । बालेन सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्ति बाहिर आएजस्तो नदिएको भन्दै बचाऊ गर्नुभएको छ ।प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल र भारतबीच सीमा विवादका सम्बन्धमा सोधिएको प्रश्नमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएको बिषयमा उहाँले बचाउ गर्नुभएको हो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोधमा विपक्षीहरूले संसदमा अवरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्। सरकारका प्रवक्ता पोखरेलले भने ‘प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने सुनेर आफू नै अचम्मित परेको धारणा पो राखेको’ भन्दै बचाऊ गर्नुभयो । मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउन आउँदा पत्रकारको प्रश्नको चक्रब्यूँहमा परेपछि प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले मिचेको भनेर बोल्दै नबोलेको जिकिर गर्नुभयो ।
प्रश्न : सदनमा प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई लिएर सांसदहरूले आवाज उठाइरहनुभएको छ। प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ या त सम्बन्धित मन्त्रीले भूमिहरू कहाँ कहाँ मिचेको हो स्पष्ट पार्नुपर्छ भन्नुभएको छ। सरकारको योजना के छ ?
मन्त्री पोखरेल : यसमा परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफिङ दिएको छ। दुई देशबीच भूमि सम्बन्धी सीमा विवाद मिलाउन विभिन्न संयन्त्र छन्। पहिलेदेखि नै बनेको संयन्त्र हो। अहिलेको सरकारले बनाएको हैन। त्यसमा सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ। नेपालले पनि कति ठाउँमा नेपालको डिप्लोमेटिक नोट पठाएको छ। इन्डियाले पनि पठाएको छ। दुई देश बसेर वार्ता गरेर सीमा विवाद मिलाउने भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ।
प्रधानमन्त्रीले पनि के भन्नुभएको हो भने सीमा विवादसम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा म अचम्मित परेको भन्नुभएको हो। प्रधानमन्त्री पनि यसमा अचम्ममा पर्नुभएको हो। त्यो हिसाबले सदनमा भन्नुभएको हो।

प्रश्न : नेपालले जग्गा मिचेको सामाजिक सञ्जालमा आइरहेको छ। त्यो साँच्चिकै त होला नि, प्रधानमन्त्रीले पनि संसदको रोष्टमबाटै भन्नुभाको छ ?
मन्त्री पोखरेल : प्रधानमन्त्रीले पनि के भन्नुभएको हो भने सीमा विवादसम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा म अचम्मित परेको भन्नुभएको हो। प्रधानमन्त्री पनि यसमा अचम्ममा पर्नुभएको हो। त्यो हिसाबले सदनमा भन्नुभएको हो। यसमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण प्रदान गरेको छ। दुई देशबीच संयन्त्र बनिसकेका छन्। कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा संयन्त्रबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको हो।
प्रश्न : सरकारसँग नेपालले भारतको सीमा मिचेको प्रमाण के छ ?
मन्त्री पोखरेल : नेपालले भारतको भूमि मिचेको छैन, प्रधानमन्त्रीले त्यस्तो हावादारी कुरा भन्नुभएकै छैन। प्रधानमन्त्रीले ‘यस्तो कुरा आयो, म अचम्ममा परेँ’ पो भन्नुभएको हो। प्रधानमन्त्रीले भन्नुभएको कुरा दोहोर्याएर सुन्नु होला।
प्रश्न : सदनमा प्रधानमन्त्रीले विपक्षीले भनेजस्तो सम्बोधन गर्ने कार्यतालिका छ कि छैन ? प्रधानमन्त्रीले पठाउनुभएको मन्त्रीले जानकारी गराउने सरकारको योजना छ कि छैन ?
मन्त्री पोखरेल : प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ। अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा फेरि सदनमा आएर उत्तर दिनुहुन्छ। यो विषयमा प्रधानमन्त्रीले भनेको कुरा नै हो। सीमा विवाद टेबल टकबाट मिलाउनुपर्ने कुरा हो। यसमा दुई देशले नै टेबल टकबाट मिलाउनुपर्छ भन्ने स्पष्ट पारिसकेका छौं। जति पनि आवश्यक कुरा छ, कूटनीतिक तरिकाले परराष्ट्र मन्त्रालयले काम कारबाही अघि सारेको छ।













प्रतिक्रिया दिनुहोस्