काठमाडौं, जेठ १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभामा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गर्नुभएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा आएर माफी माग्नुपर्ने माग गर्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता साम्पाङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताउँदै सदनमा उपस्थित भएर आफ्ना भनाइबारे स्पष्टिकरण दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक सदस्यले सदनमा उपस्थित भई हाजिर गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको संसद उपस्थितिबारे समेत प्रश्न उठाउनुभयो। ‘प्रधानमन्त्री संसदमा आउनुपर्छ, माफी माग्नुपर्छ। प्रतिनिधिसभाको नियमावलीमा हरेक सदस्यले सदनमा आएर हाजिर गर्नुपर्छ भन्ने व्यवस्था छ। प्रधानमन्त्रीको हाजिर छ कि छैन ? हाजिर छैन भने उहाँ प्रतिनिधिसभाको सदस्य होइन। प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन,’ उहाँले भन्नुभयो।
नेता साम्पाङले सरकारलाई गल्ती गर्ने छुट नभएको पनि बताउनुभयो। राज्य सञ्चालनको जिम्मेवारीमा रहेको सरकारले आफ्नो प्रत्येक निर्णय र अभिव्यक्तिप्रति जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो। ‘सरकारले गल्ती गर्न पाउँदैन, उसलाई गल्ती गर्ने छुट हुँदैन,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री साहले संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीसहित विभिन्न दलले आपत्ति जनाउँदै आएका बेला साम्पाङले पनि सदनमार्फत प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जवाफ दिन र माफी माग्न आग्रह गर्नुभएको हो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जारी विवादका कारण प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ भने विपक्षी दलहरूले सदनमा निरन्तर विरोध जनाइरहेका छन्।













प्रतिक्रिया दिनुहोस्