जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १६:२६

बजेट छलफलभन्दा प्रधानमन्त्रीले बोलेको सीमा सम्बन्धी विषय  ठुलो हो, यसमा रास्वपाको धारणा आओस् : युवराज दुलाल


काठमाडौं, जेठ १९ । प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गर्नुभएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय महत्वको बहस सिर्जना गरेको भन्दै यस विषयमा सत्तारूढ दलको स्पष्ट धारणा आउन आवश्यक रहेको बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गरेको विषयमा रास्वपाको दृष्टिकोण सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो। ‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा गर्नुभएको छ। त्यस विषयमा रास्वपाको धारणा के हो ? त्यो सदन र जनतासामु आउनुपर्छ,’ उहाँले भन्नुभयो।

दुलालले हाल संसदमा बजेटमाथिको छलफल भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट उत्पन्न विवादलाई ओझेलमा पार्ने प्रयास हुन नहुने पनि बताउनुभयो। उहाँका अनुसार राष्ट्रियता र सीमा सम्बन्धी विषय सामान्य राजनीतिक बहसभन्दा माथिको विषय भएकाले त्यसबारे स्पष्ट जवाफ आवश्यक छ। ‘बजेटभन्दा प्रधानमन्त्रीले बोल्नुभएको सीमा सम्बन्धी विषय  ठुलो हो, बजेटमाथिको छलफलको नाममा त्यो विषयलाई ओझेलमा पार्न खोजिनु हुँदैन,’ उहाँले सदनमा भन्नुभयो।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकार र सम्बन्धित दलले स्पष्ट धारणा सार्वजनिक गरी संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रधानमन्त्री साहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर बहस र विवाद जारी छ। विपक्षी दलहरूले प्रधानमन्त्रीसँग स्पष्टीकरणको माग गर्दै संसदमा विरोध जनाइरहेका छन् भने सोही विषयका कारण प्रतिनिधिसभाको बैठकसमेत प्रभावित हुँदै आएको छ।