काठमाडौं, जेठ १९ । नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गर्नुभएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्ट धारणा दिनुपर्ने माग गर्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्को आधिकारिक अभिलेखमा सुरक्षित रहेकाले त्यसलाई पछि तोडमोड गरेर वा फरक अर्थ लगाएर पन्छाउन नसकिने बताउनुभयो। ‘पछि तोडमोड गर्न खोजिए पनि प्रधानमन्त्रीले बोल्नुभएको कुरा संसद्को रेकर्डमा छ,’ उहाँले भन्नुभयो।
सांसद ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील प्रश्न उठाएको उल्लेख गर्दै यसलाई सामान्य टिप्पणीका रूपमा लिन नहुने धारणा राख्नुभयो। ‘यो देशको सार्वभौमिकतामाथिको आक्रमण हो,’ उहाँले सदनमा भन्नुभयो।
उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति अनजाने वा भुलवश आएको हो भने तत्काल स्वीकार गर्दै माफी माग्न र उक्त भनाइ फिर्ता लिन आग्रह गर्नुभयो। तर नियतपूर्वक अभिव्यक्ति दिइएको हो भने त्यसको राजनीतिक जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो। ‘उहाँले भुलवश बोल्नुभएको हो भने यसलाई धेरै लम्ब्याउनु हुँदैन। क्षमा मागेर आफ्नो भनाइ फिर्ता लिनुपर्छ। यदि नियतवश बोल्नुभएको हो भने राजीनामा दिनुपर्छ,’ सांसद ठगुन्नाले भन्नुभयो।
उहाँले सीमा अतिक्रमणका विषयलाई सामान्य किसानका खेतबारी वा गरासँग तुलना गर्न नमिल्ने पनि बताउनुभयो। भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा भारतीय सुरक्षा संरचना र सैन्य उपस्थितिसमेत जोडिएको दाबी गर्दै त्यसलाई हल्का रूपमा व्याख्या गर्न नहुने उहाँको धारणा थियो। ‘भारतीय सेनाको ब्यारेक राखेर सीमा मिचिएको विषयलाई किसानका गरा–खेतसँग तुलना गर्न मिल्दैन। यसलाई चानचुने र ख्याल ख्यालको विषय ठान्नु हुँदैन,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर विरोध भइरहेको छ। सोही विषयमा एमालेसहित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण तथा माफीको माग गर्दै आएका छन्।













प्रतिक्रिया दिनुहोस्