काठमाडौं, जेठ १९ । प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गर्नुभएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विवाद चर्किएपछि सभामुख डिपी अर्यालले आफूले उक्त विषयलाई बजेटभन्दा कम महत्त्व दिएको आशय व्यक्त नगरेको स्पष्ट पार्नुभएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै सदनको कारबाही अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो धारणा राख्नुभएको हो।
उहाँले केही सांसदहरूले आफूले सीमा सम्बन्धी विषयभन्दा बजेटमाथिको छलफललाई बढी महत्त्व दिएको रूपमा व्याख्या गरेको उल्लेख गर्दै त्यसमा सत्यता नरहेको बताउनुभयो। ‘मैले प्रधानमन्त्रीले बोल्नुभएको कुरा भन्दा बजेटमाथिको छलफल ठूलो हो भनेकै छैन,’ सभामुख अर्यालले सदनमा स्पष्ट पार्नुभयो।
उहाँले संसदमा उठेका सबै विषय महत्वपूर्ण रहेको र सीमा सम्बन्धी विषयमा सांसदहरूले व्यक्त गरेका चासोप्रति आफ्नो ध्यानाकर्षण भइसकेको बताउनुभयो। साथै, सरकारका मन्त्रीहरूले पनि सदनमा उठाइएका विषय सुनेको उल्लेख गर्नुभयो। ‘सबै विषयमा छलफल गर्दै जाऔँ भनेको हो, यहाँहरुले राख्नु भएकाे विषयमा मेरो ध्यानाकर्षण भएको छ, सरकारका मन्त्रीहरूले पनि सुन्नुभएको छ,’ उहाँले भन्नुभयो।
सभामुख अर्यालले संसद राष्ट्रिय महत्वका सबै विषयमा छलफल गर्ने थलो भएकाले सीमा सम्बन्धी बहससँगै जनताका दैनिक सरोकारका अन्य विषयमा पनि छलफल हुनुपर्ने धारणा राख्नुभयो। ‘जनताका अन्य मुद्दामा पनि छलफल गरौँ भनेको हुँ,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। सोही विषयमा संसदमा चर्को बहस भइरहेका बेला सभामुख अर्यालले संसदलाई संवाद र छलफलमार्फत अघि बढाउन आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्