काठमाडौं, जेठ १९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पछिल्ला निर्वाचन परिणामले संगठन र जनसम्बन्धबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले जनताको विश्वास कायम राखे पनि जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर बन्दै गएको संकेत निर्वाचन परिणामले दिएको बताउनुभयो।
उहाँले निर्वाचनअघि पार्टी पंक्तिबाट प्राप्त भएका प्रतिवेदन र मूल्याङ्कन उत्साहजनक रहे पनि नतिजा अपेक्षाभन्दा फरक आएको उल्लेख गर्दै त्यसबाट पार्टीले गहिरो आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। ‘हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौँ। जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ,’ उहाँले भन्नुभयो। जनताले एमालेलाई अस्वीकार नगरेको तर पार्टीलाई सचेत गराउन वैकल्पिक शक्तिलाई मतदान गरेको बुझाइ आफूहरूको रहेको उहाँको भनाइ थियो।
महासचिव पोखरेलले संकटका बेला संगठन र कार्यकर्ताबीचको सम्बन्ध अझ मजबुत हुनुपर्ने बताउनुभयो। नेतृत्वको क्षमता र परिपक्वता चुनौतीपूर्ण परिस्थितिमै परीक्षण हुने भएकाले हतारका निर्णयभन्दा धैर्यता, एकता र विवेकपूर्ण सोच आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो।
उहाँले पार्टीभित्र समस्या छन् कि छैनन् भन्ने बहसभन्दा ती समस्याको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो। संगठनभित्र निराशा फैलाउने प्रवृत्तिभन्दा समाधानमुखी संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले सदस्यता प्रणालीलाई व्यवस्थित र चलायमान बनाएर संगठनलाई थप सक्रिय बनाउनुपर्ने बताउनुभयो। जनसंगठनहरूले आफ्ना समुदायमा पुगेर सदस्यता विस्तार, जनसम्पर्क र जनहितका कामलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहको हालैको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो। उहाँले उक्त अभिव्यक्तिलाई नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र भू–राजनीतिक संवेदनशीलताविपरीत रहेको टिप्पणी गर्दै जनसंगठनहरूलाई त्यसबारे जनतालाई सुसूचित गर्न आग्रह गर्नुभयो।
बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले संयन्त्रमार्फत भएका कामको समीक्षा गर्नुभएको थियो। सोही अवसरमा उहाँले संयन्त्रको नेतृत्व विशाल भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो।
बैठकको अन्त्यतिर महासचिव पोखरेलले संगठनात्मक तयारीलाई अझ सुदृढ बनाउन निर्देशन दिँदै आवश्यक पर्दा काठमाडौंमा कम्तीमा ५ हजार कार्यकर्ता तथा समर्थकलाई छोटो समयमै परिचालन गर्न सक्ने आधार तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्