काठमाडौं, १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभामा देखिएको असामान्य परिस्थितिको समाधान प्रशासनिक छानबिनबाट नभई संसदीय समितिमार्फत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रतिनिधिसभा नियमावलीको पालना स्वयं सभामुखबाट नभएको तथा प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकपक्षीय रूपमा सभा सञ्चालन गर्ने प्रयासका कारण वर्तमान अवस्था सिर्जना भएको बताउनुभएको छ।
उहाँले सभामुखबाट भएको नियमावली उल्लङ्घन र प्रतिपक्षी दलहरूको उपेक्षाका कारण उत्पन्न असामान्य परिस्थितिलाई बेवास्ता गर्दै सभामुखकै मातहतका कर्मचारीहरूबाट गरिने प्रशासनिक छानबिनले संसदलाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न नसक्ने जिकिर गर्नुभएको छ। ‘सभामुखबाट भएको नियमावली उल्लङ्घन र प्रतिपक्षी दलहरूको उपेक्षाका कारण सिर्जित असामान्य परिस्थितिलाई बेवास्ता गर्दै सभामुखको मातहतका कर्मचारीहरू राखेर गरिने प्रशासनिक छानबिनले संसदलाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बन्न सक्ला ? अवश्य सक्दैन,’ उहाँले लेख्नुभएको छ।
महासचिव पोखरेलले यस विषयमा सभामुख र संसद्को समेत गम्भीर ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभएको छ। संसद्को गरिमा, निष्पक्षता र विश्वास कायम राख्न सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
उहाँले सभामुखले संसद्लाई मर्यादित र सफलतापूर्वक सञ्चालन गर्न आवश्यक संवेदनशीलता, निष्पक्षता र सहमतिमा आधारित कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभएको छ।
पोखरेलले आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा संस्कृत श्लोक उद्धृत गर्दै अपमानित हुँदा सज्जन व्यक्ति पनि क्रोधित हुन सक्ने सन्देश दिनुभएको छ। उहाँले ‘अवमाननया क्रुद्धोऽपि साधुः प्रहरितुं क्षमः’ भन्ने श्लोक उद्धृत गर्दै संसद्भित्र देखिएको असन्तुष्टि र प्रतिपक्षी दलहरूको आक्रोशलाई पनि सोही सन्दर्भमा बुझ्नुपर्ने संकेत गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्