जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार २२:२३

रवि लामिछानेद्वारा भारतका गृह र विदेश मन्त्रीसँग भेट, भाजपाका शीर्ष नेताहरुसँग पनि छलफल 


काठमाडौं, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री सुब्रमण्यम जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा)को शीर्ष नेतृत्वसँग भेटवार्ता गरेको छ।

रास्वपाका अनुसार सभापति लामिछानेको नेतृत्वमा सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायतको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय गृहमन्त्री अमित शाहसँग राजनीतिक वार्ता गरेको हो। वार्तामा नेपाल–भारतबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल विस्तार, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका क्षेत्रमा संयुक्त संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा गम्भीर र परिणाममुखी छलफल भएको जनाइएको छ।

यसैगरी प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग पनि भेटवार्ता गरेको छ। भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको र दुई देशका साझा समस्याको समाधान, विकास साझेदारी तथा बहुआयामिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा विचार–विमर्श भएको बताइएको छ।

भारत भ्रमणकै क्रममा रास्वपाको प्रतिनिधिमण्डलले नयाँदिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भाजपाको शीर्ष नेतृत्वसँग पनि राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न गरेको छ। भेटमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका वरिष्ठ नेताहरू सहभागी थिए।

द्विपक्षीय छलफलमा दुई छिमेकी राष्ट्रबीचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासबारे संवाद विस्तार गर्ने तथा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइएको रास्वपाले जनाएको छ।

भेटका क्रममा विकासमुखी सुशासन तथा समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी अनुभव आदानप्रदान गरिएको बताइएको छ। रास्वपाले यस्ता भेटवार्ताले नेपाल–भारत सम्बन्धमा दलगत कूटनीतिक संवादलाई थप विस्तार गर्नुका साथै लोकतान्त्रिक परिपक्वतालाई समेत बल पुग्ने विश्वास व्यक्त गरेको छ।

भारत सरकारका सुरक्षा र कूटनीतिक नेतृत्वसँगै सत्तारूढ दलको शीर्ष तहसँग भएको यो शृंखलाबद्ध संवादलाई रास्वपाले नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।