जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार ०७:३१

सुरक्षामा असफल बन्दै सरकार : महोत्तरीमा गोली चलाएर लुटपाट, प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार


काठमाडौं, जेठ २० । शान्ति सुरक्षा कायम गर्ने राज्यको दायित्वमाथि फेरि प्रश्न उठ्ने गरी महोत्तरीमा चोरी गर्न आएका समूहले एक दम्पतीमाथि गोली प्रहार गरेका छन्। आफ्नै घरमा सुरक्षित हुनुपर्ने नागरिक रातिको समयमा सशस्त्र समूहको निशानामा परेपछि सरकार नागरिकको सुरक्षाप्रति कति जिम्मेवार छ भन्ने बहस पुनः चर्किएको छ।

महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद गर्दा २७ वर्षीय रामईश्वर यादव र उहाँकी श्रीमती २२ वर्षीया किरण यादव घाइते हुनुभएको हो।

प्रहरीका अनुसार चोरी गर्न घरमा प्रवेश गरेका व्यक्तिहरूलाई रोक्न खोज्दा उनीहरूले गोली प्रहार गरेका थिए। गोली लागेर दुवै जना घाइते भएका हुन्। घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको छ।

पछिल्ला दिनमा देशभर चोरी, डकैती तथा हतियार प्रयोग गरी हुने आपराधिक घटनाका श्रृंखला दोहोरिँदै आएका छन्। सुरक्षा निकायको उपस्थितिका बाबजुद अपराधी समूहले नागरिकमाथि आक्रमण गर्न सक्ने अवस्था देखिनुले स्थानीयवासीमा त्रास बढाएको छ।

आफ्नो घर भित्रै पसे गोली प्रहार भएको घटनाले ग्रामीण क्षेत्रमा नागरिक सुरक्षाको अवस्था कमजोर रहेको संकेत गरेको छ। अपराध नियन्त्रण र नागरिकको जिउधनको सुरक्षाका विषयमा सरकार र सुरक्षा निकायको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको भए पनि स्थानीयवासीले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेका छन्। महोत्तरीको यो घटनाले नागरिकलाई आधारभूत सुरक्षा प्रदान गर्ने राज्यको जिम्मेवारीबारे फेरि गम्भीर प्रश्न खडा गरेको छ।