जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार ११:४६

जनतासँगको सम्बन्ध पुनर्स्थापना गर्न सदस्यता अभियान निर्णायक : भानुभक्त ढकाल


काठमाडौं, जेठ २० । नेकपा (एमाले) का संगठन विभाग प्रमुख भानुभक्त ढकालले आम निर्वाचनको परिणामबाट शिक्षा लिँदै जनतासँग कमजोर बनेको सम्बन्धलाई पुनर्स्थापित गर्ने गम्भीर र चुनौतीपूर्ण घडीमा पार्टी रहेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी कार्ययोजनाले पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

ढकालले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि पार्टीका तर्फबाट औपचारिक धारणा राख्न लाग्नुभएको उल्लेख गर्दै कार्यशालाले संगठनात्मक अभियानलाई नयाँ ऊर्जा प्रदान गर्ने बताउनुभयो।

उहाँका अनुसार अब पार्टी सदस्यता नवीकरण भौतिक उपस्थितिमार्फत मात्र गरिनेछ भने सदस्यतासम्बन्धी सम्पूर्ण अभिलेख र व्यवस्थापन प्रक्रिया डिजिटल प्रणालीमा आधारित हुनेछ। यसले सदस्यता व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

कार्यशालामा ११ वटा समूह गठन गरी विभिन्न विषयमा छलफल सञ्चालन गरिने जानकारी दिँदै ढकालले समूहगत छलफलबाट प्राप्त निष्कर्ष प्रस्तुत गरिने र त्यसपछि पार्टी महासचिवको धारणासँगै कार्यशाला सम्पन्न हुने बताउनुभयो।

पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्ज, भारत प्रवासका इन्चार्ज, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ।

 

ढकालले पछिल्लो समय एमालेले निर्वाचनमा भोगेका चुनौती, पार्टी अध्यक्षमाथि लगाइएका विभिन्न आरोप तथा अध्यक्ष ओलीको अस्वस्थताजस्ता कारणले पार्टीका केही कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै अब पार्टी नयाँ गतिका साथ अघि बढ्ने दाबी गर्नुभयो।

‘अब एमालेका कुनै पनि कार्यक्रम तोकिएकै समयमा सञ्चालन हुन्छन्,’ उहाँले भन्नुभयो, ‘पार्टीलाई जनताको विश्वास जित्ने, जनताको आँखाको नानीजस्तै प्रिय र भरोसायोग्य शक्ति बनाउने दिशामा हामी अघि बढिरहेका छौं।’

उहाँले सदस्यता नवीकरण र विस्तार अभियानलाई केवल सङ्ख्या बढाउने कार्यक्रमका रूपमा नभई पार्टीलाई जनतासँग थप जोड्ने, कार्यकर्तालाई सक्रिय बनाउने र संगठनलाई पुनर्जीवित गर्ने अभियानका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

एमालेले आगामी दिनमा संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापनको आधुनिकीकरण र जनआधार विस्तारलाई प्राथमिकतामा राख्दै देशव्यापी अभियान सञ्चालन गर्ने संकेत पनि कार्यशालामार्फत दिएको छ।