काठमाडौं, जेठ २० । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएको अराजकतावादी प्रवृत्ति दीर्घकालसम्म टिक्न नसक्ने दाबी गर्दै लोकतन्त्र, राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको पक्षमा एमाले दृढतापूर्वक उभिइरहने बताउनुभएको छ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक उतारचढावलाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै अस्थायी परिस्थितिका आधारमा उत्तेजित नहुन कार्यकर्तालाई सुझाव दिनुभयो।
‘समय परिस्थिति एकै नसको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला’ उहाँले भन्नुभयो, ‘ राणातन्त्र ढल्याे, राजतन्त्र ढल्याे, कस्ता कस्ता तन्त्र ढले, यो अराजकतन्त्र कति समयको पाहुना हो ? अराजकता धेरै समय चल्न सक्दैन।’
उहाँले पछिल्ला वर्षहरूमा मुलुकमा देखिएका राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितविरुद्धका गतिविधिहरूलाई सामान्य घटनाका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै ती घटनालाई सामान्य रूपमा लिएर पचाउने प्रयास भइरहेको बताउनुभयो। ‘भदौ २३ र २४ का उपद्रवी क्रियाकलाप केही पनि होइन जस्तो गरेर सर्लक्क पचाउन खोजिँदै छ,’ उहाँले भन्नुभयो, ‘तर त्यो सानोतिनो घटना थिएन। त्यसको सबैभन्दा तीव्र निशाना नेकपा एमाले थियो।’
उहाँले ती घटनाहरू केवल कुनै दलविरुद्धको आक्रमण नभई राष्ट्रियता, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिएको शक्तिविरुद्धको आक्रमण भएको दाबी गर्नुभयो। ‘कसैको जागिरसँग राष्ट्रिय हित, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको तुलना गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘यी मूल्यहरूको नेतृत्व गर्ने एमालेमाथि सबैभन्दा ठूलो आक्रमण भयो र त्यो एमालेले बेहोर्नुपर्यो।’
अध्यक्ष ओलीले नयाँ राजनीतिक शक्तिको उदय लोकतान्त्रिक विचार, नीति र कार्यक्रमका आधारमा हुनुपर्ने बताउँदै हिंसा, अराजकता वा अस्थिरताको जगमा निर्माण भएका शक्तिहरू दिगो नहुने धारणा राख्नुभयो। ‘नयाँ पार्टीको जन्म अराजकता र हिंसाबाट होइन, विचारबाट हुनुपर्छ,’ उहाँले भन्नुभयो।
उहाँले पछिल्लो निर्वाचन प्रक्रियाप्रति पनि प्रश्न उठाउँदै चुनावी परिणाम स्वाभाविक नभएको दाबी गर्नुभयो। ‘चुनाव एउटा तमासा थियो, नाटक थियो। परिणाम पूर्वनिर्धारित थियो। हामीलाई हराउन षड्यन्त्र गरिएको थियो,’ अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले निर्वाचन प्रक्रियामा भएका गतिविधिबारे भविष्यमा छानबिन भए थप तथ्यहरू बाहिर आउने दाबी समेत गर्नुभयो।
निर्वाचन परिणाममाथि प्रश्न उठाए पनि एमालेले लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै परिणाम स्वीकार गरेको अध्यक्ष ओलीले बताउनुभयो।
‘उम्मेदवारी खारेज भएको मान्छेले दोब्बर मत ल्याउने कुरा पूर्वनिर्धारित योजनाको हिस्सा थियो,’ उहाँले भन्नुभयाे, ‘तर जे भए पनि हामीले परिणाम स्वीकार गरेका छौँ र संसदमा गएर आफ्नो भूमिका निर्वाह गरिरहेका छौँ।’
उहाँले एमाले अहिले पनि राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनको पक्षमा दृढतापूर्वक संघर्षरत रहेको बताउनुभयो।
अध्यक्ष ओलीले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई संगठनात्मक पुनर्जागरणको अभियानका रूपमा लिन आग्रह गर्दै कार्यकर्ताहरूलाई जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउन निर्देशन दिनुभयो।
उहाँका अनुसार कार्यशालाले पार्टी पंक्तिमा देखिएका अन्योल र निराशालाई हटाउँदै नयाँ उत्साह, आत्मविश्वास र राजनीतिक स्पष्टता प्रदान गर्नेछ।














प्रतिक्रिया दिनुहोस्