काठमाडौं, जेठ २० । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले कुनै पनि बयान नदिएको दाबी गर्दै अहिले गठन गरिएको अर्को आयोग वा समितिलाई पनि बयान नदिने बताउनुभएको छ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको पार्टीकाे ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आफूले आयोगसँग कुनै सहकार्य नगरेको बताउनुभयो। ‘भदौ २३ र २४ को घटना छानबिन गर्न बनाइएको आयोगलाई मैले बयान दिएको छैन,’ उहाँले भन्नुभयो, ‘आयोगले बयान लियौँ भनेर छाप्यो, तर मैले बयान दिएको होइन।’
उहाँका अनुसार आयोगले प्रश्नावली पठाएको भए पनि आफूले न त ती प्रश्नहरू बुझ्न स्वीकार गरेको र न कुनै जवाफ दिएको बताउनुभयो। ‘आयोगले मलाई प्रश्न छापेर पठाएको थियो, मैले त्यो प्रश्न पनि बुझ्न मानिनँ, बयान दिन पनि मानिनँ,’ उहाँले भन्नुभयो।
आयोगले आफ्नो विश्वसनीयता जोगाउनका लागि आफूबाट बयान लिएको दाबी गरेको आरोप पनि उहाँले लगाउनुभयो। ‘आयोगले आफ्नो लाज छोप्नका लागि बयान लियौँ भन्यो, त्यो उनीहरूको कुरा हो। मैले बयान दिएको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले हालै गठन गरिएको अर्को आयोग वा समितिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै आफू त्यससमक्ष उपस्थित नहुने स्पष्ट पार्नुभयो। ‘अहिले फेरि अर्को आयोग कि समिति बनाइएको छ, अरूले जे गर्छन् गरून्, म त्यसलाई पनि बयान दिन्नँ,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई ‘पूर्वाग्रहको पोको’ भएको आरोप लगाउँदै राजनीतिक प्रतिशोधको भावनाले प्रेरित भएर विपक्षीलाई समाप्त पार्ने प्रयास भइरहेको दाबी गर्नुभयो। ‘सरकार पूर्वाग्रहको पोको हो। विरोधीलाई सिध्याउन चाहन्छ,’ उहाँले भन्नुभयो।
भदौ २३ र २४ का घटनाका क्रममा राष्ट्रकाे सम्पत्तिसँग आफ्नाे घरमा आगजनी र तोडफोडबाट क्षति पुगेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो सम्पत्ति विवरण मागिएको विषयमा पनि आपत्ति जनाउनुभयो। ‘आगो लगाएर जलाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? के खरानी भरिदिने मैले ?’ उहाँले प्रश्न गर्नुभयो, ‘खरानी उठाएर लैजाऊ सरकार।’
उहाँले ती घटनामा भएको क्षतिको उचित मूल्यांकन र जिम्मेवारी निर्धारण हुनुपर्ने धारणा पनि राख्नुभयो।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले भदौ २३ गतेको घटनाबारे बोल्दै त्यसमा गौरीबहादुर कार्कीको नाम जोडेर गम्भीर आरोपसमेत लगाउनुभयो। उहाँले उक्त घटनाको योजनाबद्ध पृष्ठभूमि रहेको दाबी गर्दै त्यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताउनुभयो। ‘भदौ २३ गतेको हत्याकाण्ड गौरीबहादुर कार्कीहरुकै योजनामा गराइएको थियो’, उहाँले भन्नुभयाे ।
अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो। विगतमा लोकतन्त्र जोगाउने भूमिका खेलेको दाबी गरिएका राष्ट्रपति पौडेल अहिले प्रभावहीन अवस्थामा पुगेको उहाँको टिप्पणी थियो। ‘बडो जुक्तिले लोकतन्त्र बचाएँ भन्ने राष्ट्रपति रामचन्द्र पौडेल अहिले रबरस्टाम्प बन्नुभएको छ,’ उहाँले भन्नुभयो।
उहाँले मुलुकमा लोकतान्त्रिक मूल्य र संस्थाहरूलाई सुदृढ बनाउनुको सट्टा क्रमशः कमजोर बनाउने काम भइरहेको आरोप पनि लगाउनुभयो। ‘लोकतन्त्र बचाउने होइन, बडो जुक्तिका साथ लोकतन्त्रलाई एकपछि अर्को गर्दै सिध्याउने काम भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो।
एमालेले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालामा देशभरका संगठनात्मक जिम्मेवारीमा रहेका नेताहरुकाे सहभागिता रहेको छ। कार्यशालामा सदस्यता नवीकरण, संगठन विस्तार, राजनीतिक परिस्थितिको समीक्षा तथा आगामी कार्यदिशाबारे छलफल भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्