काठमाडौं, जेठ २० । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको निराशा, आत्मालोचनाको नाममा भइरहेको आत्मभर्त्सना र नेतृत्वमाथिको अनावश्यक आक्रमणले संगठनलाई कमजोर बनाउने चेतावनी दिँदै एमालेभित्र अहिले सबैभन्दा बढी आवश्यक कुरा एकता भएको बताउनुभएको छ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ मा आएको राजनीतिक घटनाक्रम र त्यसबाट सिर्जित परिस्थितिलाई ‘कृत्रिम नतिजा’को संज्ञा दिँदै त्यसविरुद्ध वैचारिक र राजनीतिक रूपमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले एमालेले पछिल्लो समय भोगेका चुनौतीलाई कमजोरीका रूपमा नभई नयाँ शिक्षा र अनुभवका रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो। ‘फागुन २१ मा आएको कृत्रिम नतिजाको विरुद्ध हामी उठ्न जरुरी छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यसका लागि मित्रशक्तिसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्छ।’
उहाँले पार्टीमाथि भएका राजनीतिक आक्रमण र घेराबन्दीलाई सही रूपमा बुझ्न नसक्दा कतिपय नेता तथा कार्यकर्ताले आफ्नै पार्टीको आलोचना गर्ने र विरोधीको भाषालाई समर्थन गर्ने प्रवृत्ति देखाएको टिप्पणी गर्नुभयो। ‘हाम्रो पार्टी यस्ता कुराबाट आत्तिनु हुँदैनथ्यो, तर त्यस्तो देखियो,’ उहाँले भन्नुभयो, ‘यस्ता घटनाको गम्भीर विश्लेषण गरेर एमाले अझ दह्रो भएर अगाडि बढ्नुपर्छ।’
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्वप्रति लक्षित आलोचनालाई संकेत गर्दै केही नेताहरूमा नेतृत्व हटाइए पार्टी स्वतः बलियो हुन्छ भन्ने गलत बुझाइ रहेको बताउनुभयो। ‘विरोधीले गरेको आक्रमण नै नबुझी आफ्नै भर्त्सना गर्ने काम भयो,’ उहाँले भन्नुभयो, ‘शिर काटेर टेबुलमा राखिदियो भने पार्टी मज्जाले अगाडि बढ्छ भन्ने भ्रम केही नेताहरूमा देखियो।’
उहाँले यस्तो सोचले पार्टीलाई बलियो नबनाउने बरु संगठनात्मक एकता र मनोबल कमजोर बनाउने धारणा राख्नुभयो। अध्यक्ष ओलीले कुनै पनि राजनीतिक दलको शक्ति नेतृत्व, संगठन, विचार र कार्यकर्ताबीचको एकतामा निहित हुने बताउँदै आन्तरिक मतभेदलाई बढाएर होइन, साझा लक्ष्यमा केन्द्रित भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले वर्तमान राजनीतिक परिस्थितिमा एमालेभित्र विभाजन, अविश्वास वा आरोप–प्रत्यारोपको होइन, एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभयो। ‘यतिबेला पार्टीमा एकता चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘सबै एकताबद्ध होऔँ, पार्टीलाई सुदृढ बनाऔँ र जनतामाझ अझ मजबुत ढंगले प्रस्तुत होऔँ।’
उहाँले एमालेले विगतमा अनेकौं राजनीतिक चुनौती पार गरेर राष्ट्रिय राजनीतिको प्रमुख शक्तिका रूपमा स्थापित गरेको स्मरण गराउँदै अहिलेको चुनौती पनि एकताबद्ध प्रयासबाट पार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
दुईदिने राष्ट्रिय कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेता, संगठन विभागका पदाधिकारी, जनसंगठनका प्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेतृत्वको सहभागिता रहेको छ।













प्रतिक्रिया दिनुहोस्