काठमाडौं, जेठ २० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना कुनै पनि विवादमा पर्न नहुने बताउनुभएकाे छ। सेना राष्ट्रको सुरक्षा प्रणालीको अन्तिम किल्ला र नेपाली जनताको साझा सम्पत्ति भएकाले त्यसको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उहाँकाे जाेड छ ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेना परिचालन भएको विषयमा प्रश्न उठाउनुभयाे । ‘सुकुम्बासीलाई लछारपछार गर्दा नेपाली सेना किन गएको होला ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘नेपाली सेनाले आफ्नो गरिमा आफैँ राखोस्।’
ओलीले नेपाली सेना विवादमा तानिन नहुने बताउँदै यो संस्था राजनीतिक विवादभन्दा माथि रहनुपर्ने धारणा व्यक्त गर्नुभयाे । ‘नेपाली सेना विवादमा नपरोस्, पर्नु हुँदैन,’ उहाँले भन्नुभयाे, ‘नेपाली सेना सुरक्षाको अन्तिम किल्ला हो, त्यो राष्ट्र र नेपाली जनताको साझा सम्पत्ति हो।’
उहाँले राष्ट्रिय संस्थाहरूको विश्वसनीयता र गरिमामाथि आँच पुग्ने गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयाे । सम्बोधनका क्रममा ओलीले आफ्नो राजनीतिक अडानबारे पनि टिप्पणी गर्दै कुनै पनि दबाब वा चुनौतीका अगाडि नझुक्ने बताउनुभयाे । ‘म ढल्न सक्छु, पछारिन सक्छु तर झुक्नेवाला छैन, हात उठाउने र हात पसार्नेवाला छैन,’ उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्