नयाँदिल्ली, जेठ २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।भारत भ्रमणमा रहनुभएका सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेसँगको आज भएको भेटमा प्रधानमन्त्री मोदीले यस्तो बाचा गर्नुभएको हो ।
प्रधानमन्त्री मोदीले नेपालको सत्तारुढ दल रास्वपाका सभापति लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्नुभएको छ । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भन्नुभएको छ ।
भेटको तस्विरसहित आफ्नो धारणा सार्वजनिक गर्दै फेसबुकमार्फत मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको पनि उल्लेख गर्नुभएको छ ।
‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले फेसबुकमा लेख्नुभएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।
यता मोदीसँगको भेटपछि सभापति रवि पनि निकै उत्साहित देखिनुभएको छ । भारतको पाँच दिने भ्रमणमा दिल्लीमा रहेका रास्वपा सभापति रबिले आज प्रधानमन्त्री मोदीसँग भेटबार्ता गरेका हुन । मंगलबार भारत पुगेका सभापति लामिछानेले बुधबार भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुभएको थियो । भाजपा मुख्यालय पनि अवलोकन गर्नुभएका सभापति लामिछानेले बुधबार नै गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग रविले भेटवार्ता गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्