काठमाडौं, जेठ २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबार भेटवार्ता भएको छ ।
लामिछानेसँग भेटवार्ता गर्न पाउँदा मोदीले प्रसन्नता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन साझा रूपमा काम गर्ने सभापति लामिछानेको इच्छाको स्वागत गर्दै पूर्ण समर्थन रहेको बताउनुभएको छ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग आज भेट गर्नु भएको हाे । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकताप्राप्त साझेदार राष्ट्रका रूपमा उल्लेख गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु।’
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षा रहेको बताउनुभएको छ।‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो। नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ,’ मोदीले एक्समा उल्लेख गर्नुभएको छ।
भ्रमणका क्रममा उहाँले भारतीय जनता पार्टीका शीर्ष नेताहरू तथा मन्त्रीहरूसँग पनि भेट गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्