जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार १५:०७

विद्या भण्डारीको विषयमा कोही कसैले भ्रम पाल्न पर्दैन : केपी ओली


काठमाडौं, जेठ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी २०३७ सालदेखिकै पार्टी सदस्य रहेको भन्दै कोही कसैले उहाँको बारेमा भ्रम पाल्न नपर्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले संगठन बिभागले सदस्यता नविकरण र बिस्तार उत्प्रेरणा कार्यक्रममा नै पूर्वराष्ट्रपति भण्डारीको बिषयमा खुला खुलस्त कुरा राख्नुभएको हो । पार्टी सदस्यताका लागि भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता निरन्तरता दिएको जानकारी पनि ओलीले गराउनु भएको छ ।

एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको समयमा उहाँको सदस्यता निष्क्रिय रहेकोबारे स्पष्ट रहन आग्रह गर्नुभयो ।

‘विद्या भण्डारीजीको कुरा अहिले पनि हुने गर्छ । उठाउनै पर्दैन, उहाँ राष्ट्रपति भएको बेलामा सदस्य हुनुहुन्न थियो । नभएको सदस्यता नवीकरण हुँदैन थियो,’ ओलीले भन्नुभयो, ‘हाम्रो केन्द्रीय कमिटीले नवीकरण हुँदैन, एउटा आवेदन दिनुस, कमिटीले विचार गर्छ भनेको थियो । उहाँले आवेदन दिनुभयो, त्यसपछि कमिटीले सदस्यता थियो । उहाँ ०३७ सालको पार्टी सदस्य हो । ०३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो ।’

साथै, ओलीले राष्ट्रपति रहेको समयमा भने सदस्य नभएको विषयमा पनि प्रष्ट रहन आग्रह गर्नुभयो । ‘उहाँ राष्ट्रपति हुँदा सदस्य हुनुहुन्न थियो । बाँकी अवधि उहाँले पछि छाडेपछि फेरि सदस्यता पाउनुभयो । यसमा ३७ सालकै पार्टी सदस्य हो । यसमा भ्रम राख्नु पर्दैन । फेरि राष्ट्रपति हुँदा उहाँ सदस्य हुनुहुन्न थियो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष भण्डारीको सदस्यताको बिषय हारजितको नभएको पनि प्रष्ट पार्नुभएको छ । ‘यो हारजितको प्रश्नै होइन, यस्ता कुराहरूमा नबहकिन पनि म आग्रह गर्न चाहन्छु । हरेक कुरामा खोचे थाप्ने, निहुँ खोज्ने काम हुनु हुँदैन,’ ओलीले भन्नुभयो, ‘संगठनको विधि प्रक्रिया अनुसार चलौं । संगठनका लागि उच्च मनोबलका साथ तयार होऔं ।’