जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार २०:१६

संसदीय समितिले बनायो ६ उपसमिति, तोसिमादेखि महावीरसम्मले तोकियो जिम्मेवारी


काठमाडौं, जेठ २० । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि ६ वटा उपसमिति गठन गरेको छ । सिंहदरबारमा बुधवार बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो ।

समितिकी सभापति डा. ओजश्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ । सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहनेछन् भने उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ ।

बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति शेरचनले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली अनुसार उपसमितिहरु गठन गरिएको हो । सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् ।’ समितिका सचिव दशरथ धमलाले दिएको जानकारी अनुसार गठित उपसमितिहरूमा सांसदहरूको कार्यविभाजन र जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत ‘समिति परामर्श तथा समन्वय उपसमिति’ मा सांसदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहनुभएको छ ।

त्यसैगरी ‘स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति’ मा कामिनी कुमारी, प्राडा चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजंग थापालाई राखिएको छ । ‘शिक्षा सम्बन्धी अध्ययन उपसमिति’ मा सांसदहरू गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल रहनुभएको छ ।

यस्तै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति’ मा सांसदहरू कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुनलाई चयन गरिएको छ । सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुश्बु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल र खेलकुद अध्ययन उपसमिति’ मा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया हुनुहुन्छ ।