काठमाडौं, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद र छुवाछूत मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय एकतामाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै विभेदरहित समाज निर्माणका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कानुन निर्माण मात्रले समाजमा जरा गाडेर बसेका विभेद अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभएको हो। उहाँले समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता तथा पारस्परिक सम्मानको भावना विकास भए मात्र समतामूलक समाज निर्माण सम्भव हुने धारणा राख्नुभएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले विविधताभित्रको एकतालाई आत्मसात् गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक विभेदको अन्त्य गरी सामाजिक न्यायसहितको समावेशी समाज निर्माणको लक्ष्य लिएको स्मरण गराउनुभएको छ। संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणका लागि राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आमनागरिक सबैको साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ।
उहाँले जातीय विभेदलाई सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराधका रूपमा व्याख्या गर्दै सबै जातजाति र समुदायबीच सद्भाव, मेलमिलाप र सहकार्यको भावना विकास गर्न आग्रह गर्नुभएको छ। समाजमा विद्यमान विभेदकारी सोच र व्यवहार अन्त्य नगरी लोकतान्त्रिक मूल्य तथा मान्यतालाई पूर्ण रूपमा संस्थागत गर्न नसकिने उहाँको धारणा छ।
राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजको शक्ति नै एकता र सहअस्तित्व भएको उल्लेख गर्दै दिवसले सबै नेपालीलाई विभेदविरुद्ध दृढतापूर्वक उभिन तथा सामाजिक सद्भाव सुदृढ गर्न प्रेरित गरेको बताउनुभएको छ।
विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। यस अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको शुभकामना व्यक्त गर्दै विभेदमुक्त र सभ्य समाज निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्नुभएको













प्रतिक्रिया दिनुहोस्