जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार ०८:३२

एमालेको सदस्यता विस्तार कार्यशाला आज पनि जारी, समूहगत छलफल गरी निष्कर्ष प्रस्तुत गरिने


काठमाडौं, जेठ २१ । नेकपा (एमाले) को ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आज विभिन्न समूहगत छलफल र निष्कर्ष प्रस्तुतिसहित सम्पन्न हुँदैछ।

एमाले केन्द्रीय संगठन विभागको आयोजनामा काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी कार्यशालामा आज सहभागीहरूलाई विभाजन गरिएका ११ समूहहरूको छलफल निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम रहेको छ। प्रस्तुत निष्कर्षमाथि उठेका जिज्ञासा र प्रश्नको जवाफ पार्टीका महासचिव शंकर पोखरेलले दिनुहुनेछ भने त्यसपछि कार्यशालाको समापन गरिने कार्यसूची रहेको छ।

कार्यशालाको उद्घाटन मंगलबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूले संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र पार्टी विस्तारका विषयमा धारणा राख्नुभएको थियो।

पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्ज, भारत प्रवासका इन्चार्ज, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ।

एमालेले पछिल्लो समय संगठन विस्तार र सदस्यता व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यस कार्यशालालाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। कार्यशालामार्फत सदस्यता विस्तार तथा नवीकरण प्रक्रियालाई व्यवस्थित बनाउने, संगठनात्मक सक्रियता अभिवृद्धि गर्ने र आगामी रणनीति तय गर्ने विषयमा व्यापक छलफल भइरहेको जनाइएको छ।

कार्यशालामा पार्टी संगठनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी सदस्यता नवीकरण प्रक्रियाका प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे केन्द्रीय सदस्य तथा संगठन विभागका सदस्य माधव ढुङ्गेलले अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सहभागीहरूलाई समूहमा विभाजन गरी सदस्यता विस्तार, संगठन निर्माण, कार्यशैली सुधार, जनसम्बन्ध विस्तार तथा भावी संगठनात्मक योजनाका विषयमा समूहगत छलफल सुरु गरिएकाे छ। ती समूहहरूले तयार पारेका निष्कर्ष आज प्रस्तुत गरिनेछ।

एमाले नेतृत्वले संगठनलाई आधारभूत तहसम्म थप मजबुत बनाउने, सदस्यता व्यवस्थापनलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउने तथा पार्टी गतिविधिलाई जनस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्यका साथ कार्यशाला आयोजना गरिएको जनाएको छ।

पार्टीले कार्यशालाबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षलाई आगामी संगठनात्मक अभियान, सदस्यता विस्तार कार्यक्रम तथा पार्टी सुदृढीकरणका योजनाको आधारका रूपमा उपयोग गर्ने अपेक्षा गरेको छ।