जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १०:४३

अचम्मै भयाे : सगरमाथाबाट फर्किने क्रममा हराएका दावा शेर्पा सात दिनपछि जीवितै फेला


काठमाडौं, जेठ २१ । सगरमाथा आरोहण सम्पन्न गरेर फर्किने क्रममा हराएका दावा शेर्पा सात दिनपछि जीवितै फेला पर्नर भएकाे छ। उनको सकुशल उद्धार भएपछि पर्वतारोहण क्षेत्र र शेर्पा समुदायमा खुसी छाएको छ।

सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन भएका शेर्पाको खोजीका लागि विगत केही दिनदेखि हेलिकप्टरसहित विभिन्न माध्यमबाट खोजी अभियान सञ्चालन गरिएको थियो। तर हिजोसम्म पनि उहाँको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन।

आज बिहान भने सगरमाथा प्रदूषण नियन्त्रण समितिका (एसपीसीसी) कामदारहरूले उहाँलाई देखेपछि उद्धार गरिएको हो। उद्धारपछि उहाँलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि सुरक्षित स्थानमा ल्याइएको बताइएको छ।

उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसम, अत्यधिक चिसो, अक्सिजनको कमी र कठिन भौगोलिक अवस्थाबीच सात दिनसम्म जीवित रहन सफल हुनु आफैंमा आश्चर्यजनक घटनाका रूपमा हेरिएको छ। उहाँले यो अवधिमा कसरी समय बिताउनुभयाे, के खाएर बाँच्नुभयाे र प्रतिकूल परिस्थितिसँग कसरी जुध्नुभयाे भन्ने विषय अहिले रहस्यकै रूपमा रहेको छ।

उद्धारपछि उहाँकाे स्वास्थ्य अवस्था स्थिर रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी छ। स्वास्थ्य अवस्था सामान्य भएपछि मात्र उहाँले हराएको अवधिमा भोगेका अनुभव र जीवित रहन अपनाएका उपायबारे जानकारी दिन सक्ने अपेक्षा गरिएको छ।

पर्वतारोहण क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूका अनुसार सगरमाथा क्षेत्रमा एक सातासम्म सम्पर्कविहीन रहेर जीवित फेला पर्नु अत्यन्त दुर्लभ घटना हो। त्यसैले दावा शेर्पाको उद्धारलाई धेरैले ‘चमत्कारिक बचाउ’ का रूपमा समेत टिप्पणी गरेका छन्।

सम्बन्धित निकायले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।