काठमाडौं, जेठ २१ । भक्तपुरमा उपचाररत रामेछापका एक युवालाई नेकपा एमालेका नेता तथा समाजसेवी रत्नप्रसाद गौतमले उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
रामेछाप नगरपालिका–४ हिमगंगा चिलाउने (देवीगाउँ) स्थायी घर भई हाल भक्तपुरको दधिकोटमा बसोबास गर्दै आउनुभएका २८ वर्षीय नरबहादुर रिखाम मगर गत जेठ १४ गते स्टेज (मञ्च) निर्माण गर्ने क्रममा १६ फिट उचाइबाट करेन्ट लागेर दुर्घटनामा पर्नुभएको थियो। दुर्घटनामा उहाँको बायाँ हात तथा बायाँ खुट्टाको दुई स्थानमा गम्भीर चोट लागेर हड्डी भाँचिएको छ। हाल उहाँको मध्यपुर अस्पताल, नयाँ ठिमी भक्तपुरमा उपचार भइरहेको छ।
घाइते मगरको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेता गौतमले २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो। उक्त सहयोग रकमको चेक नेकपा एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनलगायतका नेताहरुले अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको थियो।
सहयोग रकम हस्तान्तरणका क्रममा घाइते मगरको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। साथै, उपचारका क्रममा आवश्यक सहयोगका लागि सबैलाई साथ दिन आग्रहसमेत गरिएको छ।
स्थानीयस्तरमा सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आउनुभएका गौतमले यसअघि पनि विभिन्न समस्यामा परेका नागरिकहरूको सहयोगमा हातेमालो गर्दै आउनुभएको बताइएको छ। घाइते मगरका परिवारजनले उपचारका लागि प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी उपचार प्रक्रियामा समेत सहयोगको अपेक्षा गरेका छन्।













प्रतिक्रिया दिनुहोस्