रामेछाप, जेठ २१ । विश्वप्रसिद्ध कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्दै रामेछापको उमाकुण्ड गाउँपालिकामा क्षयरोग (टिबी) परीक्षण गरिएको छ। “क्षयरोगमुक्त नेपाल अभियान” अन्तर्गत सञ्चालन गरिएको विशेष स्वास्थ्य शिविरमा एक जनामा क्षयरोग पुष्टि भएको छ भने थप दुई जनालाई शंकास्पद अवस्थाका कारण थप परीक्षणका लागि रिफर गरिएको छ।
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिनसम्म सञ्चालन गरिएको एआई डिजिटल एक्स–रे शिविरमार्फत स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको हो। जेठ २० गते उमाकुण्ड गाउँपालिका–४ स्थित प्रीति अस्पतालमा तथा जेठ २१ गते उमाकुण्ड गाउँपालिका–२ स्थित बाम्ती स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो।
शिविरअन्तर्गत प्रीति अस्पतालमा ९३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक जनामा क्षयरोग पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै बाम्ती स्वास्थ्य चौकीमा १३४ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा क्षयरोगको आशंका देखिएपछि थप परीक्षण तथा उपचारका लागि रिफर गरिएको छ।

एआई प्रविधियुक्त डिजिटल एक्स–रे प्रणालीमार्फत फोक्सोको अवस्था छिटो र प्रभावकारी रूपमा विश्लेषण गरी क्षयरोगको सम्भावित जोखिम पहिचान गरिएको थियो। यस प्रविधिले स्वास्थ्यकर्मीलाई रोग पहिचानमा थप सहजता प्रदान गर्नुका साथै दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको जनाइएको छ।
शिविरका क्रममा क्षयरोग पुष्टि भएका व्यक्तिको उपचार प्रक्रिया सुरु गरिएको छ। साथै शंकास्पद देखिएका व्यक्तिहरूको थप परीक्षण गरी आवश्यक उपचारको व्यवस्था गरिने स्वास्थ्य शाखाले जनाएको छ।
उमाकुण्ड गाउँपालिकाले क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको उपयोग गर्दै समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरूप शिविर सञ्चालन गरिएको जनाएको छ। स्वास्थ्यकर्मीहरूले समयमै परीक्षण र उपचारबाट क्षयरोग पूर्ण रूपमा निको पार्न सकिने भएकाले लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्