रामेछाप, जेठ २२ । कुनै समय शीत्खा फाँटका किसानहरूका लागि खेती गर्नु आशा र निराशाबीचको संघर्ष जस्तै बनेको थियो। खेत जोतिन्थ्यो, बीउ छरिन्थ्यो, मल हालिन्थ्यो, पसिना बग्थ्यो। तर बाली हुर्किने बेला पानी नपर्दा अथवा सिँचाइ नहुँदा किसानहरूले आफ्नै आँखाअगाडि हरियो बाली पहेँलो हुँदै सुकेको हेर्नुपर्ने बाध्यता थियो।
वर्षौँदेखि यही पीडा बोकेका शीत्खा फाँटका किसानहरूका लागि अहिले भने नयाँ बिहानीको संकेत देखिएको छ। सुख्खा र उजाड बन्दै गएको फाँटलाई फेरि हराभरा बनाउने लक्ष्यसहित शीत्खाफाँट पम्पिङ सिँचाइ योजना शुभारम्भ भएपछि स्थानीयवासीमा उत्साह र आशा दुवै बढेको छ।
खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय किसानहरूको सक्रिय सहभागितामा सुरु भएको यो योजना केवल सिँचाइ आयोजना मात्र होइन, किसानहरूको वर्षौँदेखिको सपना साकार पार्ने अभियानका रूपमा हेरिएको छ। सिँचाइको अभावले कतिपय किसान खेतीपाती नै छोड्न बाध्य भएका थिए। खेतबारी बाँझिन थालेका थिए। उत्पादन घट्दै जाँदा गाउँको अर्थतन्त्र र किसानको आत्मविश्वास दुवै कमजोर बन्दै गएको थियो। तर अहिले खोलाको पानी डाँडामाथिका खेतसम्म पुर्याउने योजनाले किसानका मनमा फेरि हरियालीको सपना जगाएको छ।
यस योजनाअन्तर्गत ३० हर्सपावरको थ्री-फेज मोटर जडान गरी नदीबाट पानी तानेर चार इन्चको पाइपमार्फत करिब १ हजारदेखि १ हजार मिटर माथिसम्म तथा ८५ मिटर उचाइसम्म पानी पुर्याइनेछ। योजना सम्पन्न भएपछि वर्षौंदेखि पानीको अभाव झेलिरहेका खेतहरूमा नियमित सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।
योजनाका लागि खाँडादेवी गाउँपालिकाले विभिन्न चरणमा गरी २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। गाउँपालिकाले प्रारम्भमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने हिउँदे गाउँसभामार्फत थप ५ लाख रुपैयाँ उपलब्ध गराइएको हो।

तर यो आयोजना सरकारी बजेटले मात्र अगाडि बढेको होइन। यसको पछाडि किसानहरूको त्याग, मेहनत र सामूहिक संकल्प पनि उत्तिकै बलियो छ। स्थानीय किसानहरूले प्रतिरोपनी ३ हजार रुपैयाँका दरले रकम संकलन गरेका छन्। त्यससँगै श्रमदान गरेर आयोजना निर्माणमा प्रत्यक्ष सहभागिता जनाएका छन्।
किसानहरूका अनुसार योजना सम्पन्न गर्न अझै ८ देखि १० लाख रुपैयाँ आवश्यक छ। यद्यपि स्थानीयवासीको उत्साह भने कम भएको छैन। बरु उनीहरू आफ्नो गाउँ र खेत बचाउने अभियानमा एकजुट भएका छन्।
उपभोक्ता समितिले आयोजना स्थलको अवलोकनका लागि गाउँपालिका अध्यक्षज्यूलाई आमन्त्रण गरेको थियो। स्थलगत निरीक्षणका क्रममा स्थानीयवासीले अझै केही बजेट अभाव रहेको जानकारी गराएका थिए। स्थानीयको सक्रियता, लगानी र श्रमदान देखेपछि गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले ‘राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ’ भन्ने मान्यतासहित बजेट अभावका बाबजुद ‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत थप ३ लाख रुपैयाँ सुनिश्चित गरिदिनुभएको छ।
यो निर्णयसँगै स्थानीयवासीमा थप उत्साह थपिएको छ। उनीहरू अब योजना पूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त देखिन्छन्।
स्थानीय किसानहरूका अनुसार हिउँदको समयमा खोलामा पानीको मात्रा घट्ने भएकाले मकैलगायतका बाली सधैँ सुक्ने गर्थे। वर्षामा पनि समयमा धान राेप्न पाइँदैन थिया । समस्या समाधानका लागि पटक–पटक जनप्रतिनिधिसँग आग्रह गर्दा पनि अपेक्षित सुनुवाइ नभएको उनीहरूको अनुभव थियो। तर अहिले भने किसान आफैँ अग्रसर बनेर समाधानको बाटो खोजिरहेका छन् र स्थानीय सरकारले पनि त्यसमा साथ दिएको छ।
शीत्खा फाँटको यो कथा केवल एउटा सिँचाइ योजनाको कथा होइन। यो सामूहिक प्रयास, श्रमको सम्मान र विकासमा जनसहभागिताको उदाहरण पनि हो। जब सरकारको सहयोग र जनताको श्रम एकै ठाउँमा जोडिन्छ, तब असम्भव देखिएका सपनासमेत पूरा हुन सक्छन् भन्ने सन्देश यस योजनाले दिएको छ।
योजना सफलतापूर्वक सम्पन्न भए पछि वर्षौँदेखि तिर्खाएको शीत्खा फाँट फेरि हरियालीले ढाकिनेछ। किसानका खेतमा उत्पादन बढ्नेछ, आयआर्जनमा सुधार आउनेछ र गाउँका युवालाई पनि कृषिप्रति आकर्षित गर्न मद्दत पुग्नेछ।
कहिलेकाहीँ विकास ठूला भवन र सडकबाट मात्र मापन हुँदैन। एउटा खेतमा पुगेको पानीले पनि एउटा परिवारको भविष्य बदल्न सक्छ। शीत्खा फाँटमा पुगेको यही आशाको पानीले अब किसानका आँखामा खुसी र खेतमा हरियाली ल्याउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्