जनता टाइम्स

२२ जेष्ठ २०८३, शुक्रबार १०:१०

खुला आत्मसमीक्षा, एकता र अनुशासन बिना पार्टी बलियो हुँदैन : शंकर पोखरेल


काठमाडौं, जेठ २२ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्रका चुनौतीहरूको सामना सम्भव रहेको बताउँदै त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य हुने धारणा व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार पार्टीका सामु चुनौतीहरू अवश्य छन्, तर ती समाधान गर्न नसकिने भने होइनन्। समस्या भए समाधान पनि सम्भव रहेको उल्लेख गर्दै उहाँले संगठनात्मक सुदृढीकरणमार्फत अघि बढ्न सकिने बताउनुभएको हो।

महासचिव पोखरेलले पछिल्ला निर्वाचन परिणामहरूले पार्टी र जनताबिचको सम्बन्ध केही कमजोर भएको सङ्केत दिएको स्वीकार गर्दै त्यसलाई पुनः मजबुत बनाउन सकिने स्पष्ट गर्नुभएको छ।

उहाँले पार्टीलाई थप सुदृढ, अनुशासित र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्न खुला आत्मसमीक्षा अनिवार्य रहेको बताउनुभयो। कमजोरी स्वीकार नगरी सुधार सम्भव नहुने उहाँको भनाइ छ।

त्यस्तै, पार्टीभित्रको एकता र अनुशासनलाई संगठनात्मक शक्ति निर्माणको आधारका रूपमा उल्लेख गर्दै उहाँले यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्नेमा जोड दिनुभएको छ।

महासचिव पोखरेलका अनुसार पार्टीलाई जनतासँग पुनः मजबुत रूपमा जोड्न भावनात्मक होइन, व्यवहारिक र संगठनात्मक सुधार आवश्यक छ। उहाँले नेतृत्व र कार्यकर्ताबिचको समन्वय, नीति कार्यान्वयनमा अनुशासन र निर्णय प्रक्रियामा संस्थागत अभ्यासलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको गरेको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ। तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।