जनता टाइम्स

२२ जेष्ठ २०८३, शुक्रबार १०:२४

अब गाउँमै विशेषज्ञ डाक्टरको परामर्श, उमाकुण्डको प्रीति अस्पतालमा टेलिमेडिसिन सेवा शुभारम्भ


रामेछाप, जेठ २२ । दुर्गम गाउँका बिरामीले सामान्य उपचारका लागि समेत घण्टौँ हिँड्नुपर्ने, डाक्टर भेट्न काठमाडौं वा जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अब क्रमशः अन्त्य हुने संकेत देखिएको छ। रामेछापको उमाकुण्ड गाउँपालिकास्थित प्रीति अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएसँगै गाउँमै बसेर देश–विदेशका वरिष्ठ चिकित्सकको परामर्श र उपचार सेवा प्राप्त गर्ने बाटो खुलेको छ।

वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा आवश्यक उपकरण उपलब्ध गराइएपछि प्रीति अस्पतालमा टेलिमेडिसिन सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। यस सेवामार्फत बिरामीले अस्पतालमै उपस्थित भएर भिडियो प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले धुलिखेल अस्पताललगायत विभिन्न विशेषज्ञ स्वास्थ्य संस्थासँग समन्वय गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँका अनुसार टेलिमेडिसिन सेवाले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउने र उपचार सेवामा देखिएको दूरी घटाउनेछ।

यस सेवामार्फत देशका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकसँग आवश्यक परामर्श लिन सकिने भएकाले गाउँका नागरिकले समय, श्रम र खर्च तीनै कुरामा राहत पाउने अपेक्षा गरिएको छ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले टेलिमेडिसिन सेवा गाउँपालिकाका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। ‘अब सामान्य र मध्यम जटिलताका धेरै बिरामीले उपचारका लागि काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुनेछ। शल्यक्रिया तथा अत्यन्त जटिल अवस्थाबाहेकका धेरै उपचार गाउँमै सम्भव हुनेछन्,’ अध्यक्ष सुनुवारले भन्नुभयो।

उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

उमाकुण्ड जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि टेलिमेडिसिन सेवा केवल प्रविधिको प्रयोग मात्र होइन, स्वास्थ्य सेवामा समान पहुँचको नयाँ अध्याय पनि हो। विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेका स्थानीय स्वास्थ्य संस्थामा अब आधुनिक प्रविधिमार्फत अनुभवी चिकित्सकको ज्ञान र सेवा जोडिने भएको छ।

स्वास्थ्य सेवा विस्तारको यो पहलले दुर्गम गाउँका नागरिकमा नयाँ आशा जगाएको छ। बिरामीले अब उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता कम हुने, समयमै रोग पहिचान र परामर्श प्राप्त हुने तथा स्वास्थ्य सेवाप्रतिको विश्वास अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

गाउँमा अस्पताल भवन मात्रै भएर पुग्दैन, गुणस्तरीय सेवा पनि आवश्यक हुन्छ भन्ने सन्देश दिँदै प्रीति अस्पतालमा सुरु भएको टेलिमेडिसिन सेवा ग्रामीण स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।