जनता टाइम्स

२२ जेष्ठ २०८३, शुक्रबार २२:१६

नेपालमा विकास र सेवा प्रवाह प्रभावकारी हुन नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक : मुख्यमन्त्री बानियाँ


काठमाडौं, जेठ २२ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालमा विकास निर्माण तथा सेवा प्रवाहका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक बनेको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले कर्मचारीतन्त्रले विभिन्न प्रक्रिया र प्रशासनिक झन्झटमा अल्झाउने प्रवृत्ति अपनाउने गरेका कारण जनताले अपेक्षा गरेअनुसार विकासका काम अघि बढाउन कठिनाइ भइरहेको बताउनुभयो।

उहाँले सरकारी निकायहरूबाट सूचना प्रवाहमा समेत कर्मचारीहरूको उदासीनता देखिएको गुनासो गर्नुभयो। प्रधानमन्त्रीले सरकारी ठेक्का (टेण्डर) बाहेकका सूचना तथा कार्यक्रमसम्बन्धी जानकारी नियमित रूपमा सार्वजनिक गर्न निर्देशन दिइसकेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो। “सरकारी टेण्डर बाहेकका सबै सूचना र कार्यक्रम दिनु भनेर प्रधानमन्त्रीले हाम्रो उपस्थितिमै भन्नुभएको थियो, तर कर्मचारीहरूले अझै पनि पठाएका छैनन्,” मुख्यमन्त्री बानियाँले भन्नुभयो।

उहाँले प्रदेश सरकारले पत्रकार तथा सञ्चारकर्मीका लागि उपलब्ध गराउँदै आएको सुविधा नकटाइने स्पष्ट पार्दै आगामी दिनमा थप विस्तार र वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हामी पत्रकारलाई दिएको सुविधा कटाउँदैनौँ, बरु बढाएर नै लैजान्छौँ,” उहाँले भन्नुभयो।

कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सञ्चारकर्मीहरूले भोगिरहेका विभिन्न समस्या समाधानका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै पत्रकारलाई अप्ठ्यारो पार्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाउनुभयो। “लोकतन्त्रमा पत्रकारको भूमिका ठूलो छ। पत्रकारका अप्ठ्यारा फुकाउन हामी सहयोग गर्नेछौँ, अप्ठ्यारो पार्ने काम हुँदैन,” मन्त्री अधिकारीले भन्नुभयो।

मिडिया सम्मेलनमा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रका चुनौती, पत्रकारको पेशागत सुरक्षा तथा राज्यबाट प्राप्त हुनुपर्ने सहयोगका विषयमा आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा सञ्चार क्षेत्रका सरोकारवाला, पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।