जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार १०:५९

 बालेनलाई हर्क साम्पाङको आग्रह : नेपालले भारतको सीमा कहाँ–कहाँ मिचेको हो सदनमा प्रमाण ल्याउनु


काठमाडौं, जेठ २३ । श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको प्रमाण संसद्मा प्रस्तुत गर्न आग्रह गर्नुभएको छ।

केही दिन अघि प्रधानमन्त्री साहले प्रतिनिधिसभा बैठकमा भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्त, सामाजिक सञ्जाल तथा विभिन्न तहमा व्यापक आलोचना भइरहेको छ।

यही सन्दर्भमा अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री साहलाई आफ्नो दाबी पुष्टि गर्न चुनौती दिनुभएको छ ।  उहाँले ‘नेपालले भारतको सीमा कहाँ–कहाँ मिचेको हो, त्यसको प्रमाण लिएर २५ गते सदनमा आउनुस्’ भन्दै चुनौतीपूर्ण शैलीमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको त्यो प्रमाण लिएर आउनु है सदनमा बालेन जी ! २५ गते !’

प्रधानमन्त्री साहको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणले समेत प्रश्न उठाइरहेका छन्। आलोचकहरूले नेपालको भूमि विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण भएको विषय राष्ट्रिय बहसको विषय रहँदै आएको अवस्थामा नेपालले नै भारतको भूमि मिचेको दाबी गर्नु गम्भीर विषय भएको बताएका छन्। यो भारतलाई रिझाएर देश समाप्त पार्ने नियतका साथ आएको बताइँदै आएको छ ।

सीमा सम्बन्धी विषय नेपालका लागि संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा रहँदै आएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रलाई लिएर नेपाल–भारतबिच लामो समयदेखि विवाद रहँदै आएको छ। यस्ता विषयमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्तिले नेपालको दाबी कमजोर हुने बताइन्छ ।