काठमाडौं, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनअघि देशव्यापी संगठन विस्तार र पुनर्संरचनालाई तीव्रता दिँदै दुई दिनभित्र अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन हुने भएको हो। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आज ३६ जिल्लामा र भोलि २९ जिल्लामा अधिवेशन आयोजना गरिएको छ।
आज कोसी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेस प्रदेशका महोत्तरी र रौतहट, वाग्मती प्रदेशका रामेछाप, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन हुँदै छ।
त्यस्तै गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन हुने कार्यक्रम रहेको छ।
भोलि कोसी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेस प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, वाग्मती प्रदेशका चितवन र ललितपुर, गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङमा अधिवेशन हुनेछ।
यस्तै लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि भोलि अधिवेशन आयोजना गरिएको छ। विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तय गरिएको छ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। पार्टीका अनुसार यी अधिवेशनमार्फत स्थानीय नेतृत्व चयन, संगठनको पुनर्गठन तथा महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइनेछ।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै पार्टीले प्रदेश अधिवेशनको तयारी पनि सुरु गरेको छ। महामन्त्री बुर्लाकोटीका अनुसार जेठ २६ गतेबाट सातै प्रदेशका अधिवेशन सञ्चालन गरिनेछ।













प्रतिक्रिया दिनुहोस्