जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार ११:५६

जनतासँगको बलियो सम्बन्ध र आत्मसमीक्षाबाट मात्रै पार्टी रूपान्तरण सम्भव : शंकर पोखरेल


काठमाडौं, जेठ २३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनसम्बन्ध विकास र पार्टी रूपान्तरणका लागि आवश्यक आधारहरू सार्वजनिक गर्दै गम्भीर आत्मसमीक्षा, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले पार्टी रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक मूल्य–मान्यता र संस्थागत प्रणालीको सुदृढ अभ्यास भएको उल्लेख गर्नुभएको हो।

उहाँले पार्टीलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन गम्भीर आत्मसमीक्षा तथा रूपान्तरणको दृढ संकल्प आवश्यक रहेको बताउनुभएको छ। साथै कमिटी प्रणालीको पुनर्स्थापना र सुदृढीकरण, सामूहिक नेतृत्व प्रणालीको विकास तथा वर्गसंघर्ष र राजनीतिक संघर्षमा सक्रिय सहभागितालाई पनि रूपान्तरणका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभएको छ।

महासचिव पोखरेलले जनपक्षीय जीवनशैली, व्यवहार र आचरणको अवलम्बन गर्दै पार्टी जीवनमा लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ। नीति र नेतृत्वलाई स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजी आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँले सार्वजनिक गर्नुभएको अवधारणाअनुसार पार्टी रूपान्तरणका मुख्य आधारहरूमा गम्भीर आत्मसमीक्षा र रूपान्तरणको दृढ संकल्प, कमिटी प्रणालीको पुनर्स्थापना र सुदृढीकरण, सामूहिक नेतृत्व प्रणालीको विकास, वर्गसंघर्ष तथा राजनीतिक संघर्षमा सक्रिय जोड, जनपक्षीय जीवनशैली र आचरण, लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण तथा नीति र नेतृत्व स्थापित गर्न नयाँ दृष्टिकोणको खोजी रहेका छन्।

महासचिव पोखरेलले पार्टीभित्रको एकता, अनुशासन र विधिसम्मत प्रणालीको अभ्यासलाई रूपान्तरण अभियानको प्रमुख आधारका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार संस्थागत प्रक्रियालाई मजबुत बनाउँदै अघि बढेमा मात्रै पार्टीले जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन सक्नेछ। ‘रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार नै हो,’ उहाँले लेख्नुभएको छ। साथै एकता, अनुशासन र विधिसम्मत प्रणालीको अनुशरण गर्दै संस्थागत बाटोबाट मात्रै यी उद्देश्यहरू पूरा गर्न सकिने उहाँको धारणा छ।