जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार १८:२६

सरकार अधिनायकवादतर्फ उन्मुख, प्रेस स्वतन्त्रतामाथिको आक्रमणविरुद्ध निर्णायक आन्दोलनमा जान्छौँ : निर्मला शर्मा


हेटौंडा, जेठ २३ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान सरकार निरंकुश तथा अधिनायकवादी बाटोमा अघि बढिरहेको बताउँदै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यमाथि भइरहेको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघ निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको पाँचौँ साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष शर्माले निरंकुश शासन व्यवस्थाको पहिलो निशाना स्वतन्त्र सञ्चारमाध्यम हुने गरेको उल्लेख गर्दै अहिले सरकारले पनि मिडियामाथि अङ्कुश लगाउने नीति अवलम्बन गरिरहेको बताउनुभयो।

उहाँले मिडियालाई उपलब्ध गराइने सरकारी सूचना रोक्ने प्रयास केवल प्रशासनिक निर्णय नभई नागरिकको आवाजलाई दबाउने रणनीति भएको दाबी गर्नुभयो। ‘मिडियालाई दिने सरकारी सूचना रोक्नु मात्रै मुख्य कुरा होइन, त्यसको माध्यमबाट सरकारले नागरिकको आवाज रोक्न खोजिरहेको छ, प्रेसलाई कमजोर बनाउन खोजिरहेको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष शर्माले सरकारका पछिल्ला कदमहरूले लोकतन्त्र र संविधानमाथि नै सङ्कट निम्त्याउन सक्ने चेतावनी दिँदै नागरिक समाजलाई एकीकृत गरी आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले अहिले देश गम्भीर मोडमा रहेको र नागरिक अधिकार कुण्ठित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा नागरिक आवाज बलियो रूपमा उठ्नुपर्ने धारणा राख्नुभयो। ‘देश अहिले गम्भीर संकटको अवस्थामा छ, यसबाट मुक्तिका लागि नागरिक आवाज सशक्त रूपमा उठ्न आवश्यक छ। त्यो जिम्मेवारी नेपाल पत्रकार महासंघले वहन गर्छ र गर्दै आएको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष शर्माले लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि सङ्कट आइपरेका बेला नेपाल पत्रकार महासंघले सधैँ अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। २०६२/६३ सालको जनआन्दोलनदेखि विभिन्न राजनीतिक सङ्क्रमणका समयमा महासंघले लोकतान्त्रिक मूल्यहरूको पक्षमा स्पष्ट अडान लिएको उहाँको भनाइ थियो।

उहाँले पछिल्लो समय पत्रकारहरूलाई साइबर कानुनको नाममा अनुसन्धान र कारबाहीको दायरामा ल्याउने प्रयास भएको भन्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा चित्रण गर्नुभयो। ‘पत्रकारलाई साइबर कानुन लगाएर प्रहरीको साइबर ब्युरोसम्म उभ्याउने काम भइरहेको छ। यो प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो, यसको विरुद्ध पनि आन्दोलन अपरिहार्य छ,’ उहाँले बताउनुभयो।

नेपाल पत्रकार महासंघ हाल चौथो चरणको आन्दोलनमा रहेको जानकारी दिँदै अध्यक्ष शर्माले आन्दोलनका मागप्रति सरकारले बेवास्ता गरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने स्पष्ट पार्नुभयो। ‘हामी अहिले चौथो चरणको आन्दोलनमा छौँ, यसबाट पनि सरकारले नसुने आन्दोलनको मोडालिटी परिवर्तन हुनेछ,’ उहाँले चेतावनी दिनुभयो।

कार्यक्रम नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नीतु पण्डित, काेषाध्यक्ष रामकृष्ण अधिकारी केन्द्रीय सदस्यहरू,  विभिन्न जिल्ला शाखाका अध्यक्षहरू, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभा सदस्य लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभामा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेसागत सुरक्षा तथा लोकतान्त्रिक अधिकारको रक्षा गर्न महासंघको आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। अध्यक्ष शर्माको अभिव्यक्तिले वर्तमान राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रता र नागरिक अधिकारका विषयलाई लिएर नयाँ बहससमेत सिर्जना गरेको छ।