जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार २१:४४

परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच वार्ता : कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा यस्तो छ प्रतिबद्धता


नयाँ दिल्ली, जेठ २३ । भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । नेपालमा नयाँ सरकार गठन भएपश्चात् दुई देशका विदेश मन्त्रीबीच भएको यो पहिलो औपचारिक र महत्त्वपूर्ण राजनीतिक भेटघाट हो ।

दिल्ली पुगेलगत्तै शुक्रवार नै भारतीय सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेपछि खनालले आज विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो । गत चैतको अन्तिम सातातिर मौरिससमा सम्पन्न नवौँ इन्डियन ओसन कन्फरेन्स (भारतीय महासागर सम्मेलन) को साइडलाइन भेटवार्तापछि दुई देशका परराष्ट्रमन्त्रीबीच पुनः आज औपचारिक भेटघाट भएको हो ।

बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पार्नुभएको छ । ुहामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ, भेटमा खनालको भनाई थियो ।

उहाँले नेपाल र भारत दुई देश मात्र नभएर एउटा गौरवशाली र प्राचीन सभ्यताका हिस्सेदार भएको उल्लेख गर्दै यस ऐतिहासिक बन्धनलाई अब आधुनिक विकासमुखी साझेदारीमा बदल्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

उहाँले रास्वपा सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा लेखेको आलेखका आधारमा नेपाल सरकार अगाडि बढ्न चाहेको धारणासमेत औपचारिक रुपमा राख्नुभएको छ । यस्तै विपतको समयमा र हालैको पश्चिम एसिया संकटका बेला भारतले पुर्याएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री खनालले इन्धन र मलको निरन्तर आपूर्तिका लागि भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।

भारतीय विदेश मन्त्री जयशंकरले नेपाल र भारतबीच यो अनुपम सम्बन्ध आपसी विश्वास, आपसी सम्मान र साझा समृद्धिको जगमा उभिएको बताउनु भएको छ । कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन भारत सधैँ प्रतिबद्ध रहेका धारणा जयशंकरको थियो ।

द्विपक्षीय बैठकले विगतका सहयोग र प्रगतिको समीक्षा गर्नुका साथै आगामी दिनमा दुई देशबीच हुनसक्ने उच्चस्तरीय भ्रमणहरूका लागि महत्त्वपूर्ण आधार तयार पारेको समेत दुवै देशका परराष्ट्रमन्त्रीले बताउनु भएको छ । दुवै देशका मन्त्रीहरूले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सबै तहमा अर्थपूर्ण र उद्देश्यपूर्ण रूपमा मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्केकै दिन अचानक परराष्ट्रमन्त्री खनाल दिल्ली जानुभएको थियो । उहाँको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ । परराष्ट्रमन्त्री खनालले रविको बिचारअनुसार अगाडि बढने प्रष्ट सन्देश दिएर भारतसामू आफू पार्टी संस्थापनको खास उत्तराधिकारी रहेको सन्देशसमेत दिनुभएको छ ।