काठमाडौं, जेठ २५ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल कांग्रेससहित चार दलका अध्यक्षले इग्नोर गरेका छन् ।
संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले सोमवार बिहान ९ बजे बोलाएको बैठकमा चार दलका सभापति र अध्यक्ष सहभागी नभएका हुन् ।रास्वपा सभापति लामिछानेले सवै दलका प्रमुखलाई सहभागी हुन आग्रहसहित निम्तो पठाएको थियो ।
तर बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नहुनुभएको हो । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी हुनुभएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी हुनुभएको छ ।
बिगतमा हरेक दलले बोलाएको बैठकमा आफैँ सहभागी हुँदै आउनुभएका रास्वपा सभापति लामिछानेले सत्तारुढ दलको सभापतिको नाताले सदनमा देखिएको गतिरोध अन्त्य र सहमतिका साथ अघि बढने बाटो पहिल्याउन आयोजना गरिएको बैठकमा प्रमुख प्रतिपक्षदेखि तेस्रो, चौथो र पाँचौँ दलका प्रमुख सहभागी नभएपछि चित्त दुखाउनु भएको छ । उहाँले बैठकमै यतिसारो नगरिदिएको भए हुन्थ्यो भन्दै असन्तुष्टि समेत पोख्नुभएको छ । उहाँले जानाजान आफ्नो अपमान गरेको संकेत समेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्