काठमाडौं, जेठ २५ । संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक अन्य कुनै पनि प्रमुख दलका शीर्ष नेता सहभागी भएनन्।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई आमन्त्रण गरिएको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा, श्रम संस्कृति पार्टीका शीर्ष नेतृत्व अनुपस्थित रहे। बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी भएका थिए।
कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृतिका हर्क साम्पाङ बैठकमा उपस्थित भएनन्। यद्यपि ती दलका तर्फबाट प्रतिनिधिहरू भने बैठकमा सहभागी भएका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा माओवादी केन्द्रका नेता वर्षमान पुनलगायत सहभागी भएका छन् ।
संसदमा जारी अवरोध र समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ। तर प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित भएपछि बैठकको राजनीतिक महत्त्व र प्रभावकारितामाथि प्रश्न उठेको छ।
संसदमा देखिएको गतिरोध अन्त्यका लागि दलहरूबिच संवादको आवश्यकता बढिरहेका बेला रास्वपाको पहलमा आयोजित बैठकमा अधिकांश दलका दोस्रो तहका नेताहरू सहभागी भए पनि राप्रपाबाहेक कुनै पनि दलका सभापति वा अध्यक्ष उपस्थित नभएका हुन्।













प्रतिक्रिया दिनुहोस्