जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार ११:०९

सडक किनारमै बगैँचा : चिसापानीका स्थानीयले देखाए हरित विकासको प्रेरणादायी नमुना


रामेछाप, जेठ २५ । विकास भनेको केवल सडक, भवन र पूर्वाधार निर्माण मात्र होइन, त्यसलाई सुन्दर, वातावरणमैत्री र जनमैत्री बनाउने अभियान पनि हो भन्ने उदाहरण मन्थली नगरपालिका–८ चिसापानीले प्रस्तुत गरेको छ। वडा कार्यालय र स्थानीयवासीको संयुक्त पहलमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएपछि चिसापानी क्षेत्र अहिले जिल्लाकै आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

रामेछापको सदरमुकाम मन्थलीबाट चिसापानी जाने सडकअन्तर्गत गाइखुरादेखि चिसापानीसम्मको सडक खण्डमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवा रोपिएका छन्। सडकको दुवैतर्फ फैलिएको हरियालीले यात्रुलाई लोभ्याउने मात्र होइन, वातावरण संरक्षण र स्थानीय सौन्दर्य अभिवृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

‘हरित सडक’ निर्माण गर्ने लक्ष्यका साथ मन्थली नगरपालिका–८ वडा कार्यालयले २०८० सालदेखि यो अभियान सुरु गरेको थियो। वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार जनप्रतिनिधि निर्वाचित भएपछि सडकलाई केवल यातायातको माध्यम नभई वातावरणीय र पर्यटकीय सम्पदाका रूपमा विकास गर्ने सोचका साथ अभियान अघि बढाइएको हो।

उहाँका अनुसार हालसम्म सडक किनारमा करिब एक हजार बिरुवा रोपिएको छ। बिरुवा रोप्ने काममा मात्र सीमित नभई तिनको संरक्षण र स्याहारसम्भारमा पनि स्थानीयवासीलाई सक्रिय रूपमा परिचालन गरिएको छ। ‘सडकलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले स्थानीय समुदायलाई परिचालन गरेर अभियान सञ्चालन गरेका थियौँ,’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘स्थानीयवासीको उत्साहजनक सहभागिताका कारण अभियानले अपेक्षाभन्दा राम्रो सफलता प्राप्त गरेको छ।’

उहाँका अनुसार यो अभियानले विकास निर्माणका काममा स्थानीय समुदायको अपनत्व र सहभागिता भए परिणाम अझ प्रभावकारी र दिगो हुने सन्देश दिएको छ। सडक किनारमा रोपिएका बिरुवाको संरक्षणमा स्थानीयवासी स्वयं सक्रिय भएकाले अभियानप्रति उनीहरूको अपनत्व पनि बढेको छ।

हरित सडक अभियानले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्न थालेको छ। चिसापानी क्षेत्र ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिका कारण पहिलेदेखि नै परिचित भए पनि पछिल्लो समय सडक किनारको हरियालीले त्यसको आकर्षण थप बढाएको स्थानीयवासी बताउँछन्।

वडा कार्यालयले पर्यटन विकासलाई ध्यानमा राख्दै सडक क्षेत्रमा बत्ती जडान गरेको छ भने स्थानीय स्तरमा होमस्टे सञ्चालनलाई पनि प्रोत्साहन दिएको छ। चिसापानीको मौलिक नेवारी संस्कृति, ऐतिहासिक महत्त्व बोकेको चिसापानी गढी तथा वरपरका प्राकृतिक दृश्य यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन्।

स्थानीयवासीको अनुसार केही वर्षअघिसम्म सामान्य देखिने सडक अहिले फूल र फलफूलका बिरुवाले सजिएको आकर्षक मार्गमा परिणत भएको छ। विशेष गरी वसन्त र वर्षायाममा फूलहरू फुल्दा सडकको सौन्दर्य झन् मनमोहक बन्ने गरेको छ। यसले यात्रु तथा आगन्तुकलाई रोकिन, अवलोकन गर्न र तस्बिर खिच्न समेत प्रेरित गर्ने गरेको छ।

सडक किनारको हरियालीले वातावरण मात्र स्वच्छ बनाएको छैन, समुदायमा सकारात्मक सोच र सामूहिक जिम्मेवारीको भावना पनि विकास गरेको छ। आफ्नै गाउँ र बस्तीलाई सुन्दर बनाउने अभियानमा सबैको सहभागिताले सामाजिक एकता समेत बलियो बनेको उनीहरूको अनुभव छ।

चिसापानीको यो अभियानले सीमित स्रोतसाधनका बिच पनि इच्छाशक्ति, नेतृत्व र समुदायको सहकार्य भए परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ। स्थानीय सरकार र नागरिकबीचको सहकार्यले विकासलाई कसरी जनमैत्री, वातावरणमैत्री र दिगो बनाउन सकिन्छ भन्ने दृष्टान्तका रूपमा यो अभियान स्थापित हुँदै गएको छ।

वडा कार्यालयले आगामी दिनमा पनि हरियाली संरक्षण, सडक सौन्दर्यीकरण तथा पर्यटनमैत्री पूर्वाधार विस्तारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीको सक्रिय सहभागितामा अघि बढेको यो अभियान अहिले केवल हरित सडक निर्माणको कार्यक्रम मात्र नभई समुदायको सामूहिक सङ्कल्प, वातावरणप्रतिको जिम्मेवारी र समृद्धिको यात्राको प्रेरणादायी कथा बनेको छ।