जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार ११:५४

सरकारको प्रारम्भिक लक्षण ठिक देखिएन, परिपक्व व्यवहार देखाओस् : राजेन्द्र लिङदेन  


काठमाडौं, जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको प्रारम्भिक संकेत सकारात्मक नभएको भन्दै सबै राजनीतिक शक्तिले परिपक्व र जिम्मेवार व्यवहार देखाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसदमा प्रतिपक्षी दलहरू संख्यात्मक रूपमा कमजोर भए पनि शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले देश कुनै एक पक्षको मात्र नभई जित्ने र हार्ने सबैको साझा थलो भएको उल्लेख गर्दै राजनीतिक दलहरूले राष्ट्रिय हितलाई सर्वोपरि राखेर व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । ‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष लिङदेनले विशेषगरी वैदेशिक सम्बन्धसँग जोडिएका विषयमा राजनीतिक दलहरू र सरकार दुवैले अपरिपक्व अभिव्यक्ति वा व्यवहार नगर्न सचेत गराउनुभएको छ । उहाँले सरकारलाई लक्षित गर्दै भन्नुभयो, ‘यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुन्छ, त्यसैले परिपक्व व्यवहार गर्नुपर्छ ।’

त्यसैगरी उहाँले पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने द्वारा दिइएका केही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले विशेषगरी ‘विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रश्न उठाउँदै भन्नुभयो, ‘विगतको भारी बोक्दैनौँ भनेको विगतका सबै कुरा नराम्रो थिए भन्ने अर्थमा लिन खोजिएको हो र ?’

लिङदेनले त्यस्ता अभिव्यक्तिले इतिहास र राज्यको निरन्तरतामाथि गलत सन्देश जाने खतरा रहने उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालले ऐतिहासिक, कूटनीतिक र संवैधानिक रूपमा स्थापित गरेका केही संवेदनशील विषयहरूलाई हल्का रूपमा प्रस्तुत गर्नु उचित हुँदैन ।

उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकसँग सम्बन्धित विषयलाई पनि उदाहरणका रूपमा उठाउनुभयो । उहाँले भन्नुभयो, संविधानको अनुसूचीमा समेटेर संसदबाट सर्वसम्मत निर्णय भइसकेको विषयलाई ‘बोक्दिनँ’ भन्ने अभिव्यक्तिले गलत अर्थ दिन सक्ने भएकाले सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता रहेको छ ।

लिङदेनले शक्ति सन्तुलन कमजोर हुने गरी सरकार अघि बढे त्यसले लोकतान्त्रिक प्रणालीमै दीर्घकालीन असर पार्न सक्ने चेतावनी पनि दिनुभयो । उहाँले प्रतिपक्ष कमजोर भए पनि लोकतन्त्रमा त्यसको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले त्यसलाई बेवास्ता गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र संवैधानिक मूल्यहरूप्रति संवेदनशील रहन आग्रह गर्नुभएको छ । सर्वदलीय बैठकपछि व्यक्त गरिएको उहाँको यो प्रतिक्रिया अहिले राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।